२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओली सरकारको दिनगिन्ती सुरु भएको छ । उनको अवस्था दिनदिनै ओरालो लाग्दो छ । पार्टीभित्र सहज बहुमत, संसदीय दलभित्र सहज बहुमत, संसदभित्र आरामदायी बहुमत अनि देशभित्र बलियो जनमतको साथ पाएका ओलीका लागि आगामी दिन सजिलो नहुने भएको छ । ओलीले बोली मात्र होइन व्यवहार समेत फेर्न थालेको आरोप सत्ता गठबन्धनका साझेदारहरुले मात्र नभएर पार्टीभित्रबाट समेत लाग्न थालेको छ । राष्ट्रियताको मामिलामा चट्टानी अडान राख्ने भनी पहिचान बनाएका ओलीको अडान ‘चुनढुंगा’ जस्तो फ्यास्स हुने खालको हुन थालेको आरोप लाग्न थालेको छ ।
एमालेभित्र ओलीका सबैभन्दा बलिया समर्थक तथा सहयात्री नेता कहलिएका बामदेव गौतमले ओलीका पछिल्ला क्रियाकलाप विगतभन्दा ठीक उल्टो बाटोमा गएको आरोप लगाउन थालेका छन् । सार्वजनिक रुपमा बामदेव खुलेर यो विषयमा बोलेका छैनन् तर पार्टीभित्र उनले भन्न थालेका छन्– ओलीजीले पहिले ठीक ठाउँमा गोली हान्नुभएको थियो तर अहिले हवाई फायर मात्र गरिरहनुभएको छ । स्रोत अनुसार ओलीको राष्ट्रवादी अडान पूरै धर्मराएको बामदेवको ठम्याई छ । बामदेवको भनाइ छ– अहिलेसम्म आएको बाटो ठीक छ, यो बाटोबाट अगाडि बढ्न वाम गठबन्धनलाई निरन्तरता दिनुपर्छ ।
ओलीलाई झलनाथ र माधव नेपालले खासै असहयोग गरेका थिएनन् । पछिल्ला केही समयदेखि भने झलनाथ र माधवले पनि बामदेवले झैं ओलीको नियतमै प्रश्न उठाउन थालेका छन् । सत्तासिन भएपछि ओलीले गृह तथा परराष्ट नीतिमा लिएको बाटोलाई झलनाथ र माधवले साथ दिँदै आएका थिए यद्यपि उनीहरुको पार्टीभित्र भने चर्को अन्र्तविरोध थियो । झलनाथ र माधव पनि ओलीले विगतको अडान त्याग्दै नयाँ बाटो लिन थालेको शंका गरिरहेका छन् । उनीहरुको भनाइ छ– बाम गठबन्धन भत्काएर दक्षिणपन्थी गठबन्धनका लागि बाटो खुला गर्ने मार्गमा ओलीले लाग्न थालेका छन् ।
स्रोत अनुसार झलनाथ, माधव र बामदेव अब एकै ठाउँमा ओलीविरुद्ध आउने अवस्था सिर्जना भएको छ । यी तीन मुख्य नेता एक ठाउँ आए भने पार्टी केन्द्रीय समितिमा ओली अल्पमतमा पर्नेछन् । वाम गठवन्धन भत्काएर दक्षिणपन्थी बाटो समातेको अवस्थामा संसदीय दलमा समेत ओली अल्पमतमा पर्ने अवस्था देखिएको छ । एउटा लामो राजनीतिक कोर्स पूरा गरिसकेपछि ओलीले काँध फेर्नुपर्ने अवस्था छ । सहयात्रीलाई काँध फेर्न पालो लाउनुको सट्टा भारी नै अरुलाई जिम्मा लगाउने पक्षमा ओली देखिएका छन् । यसो भएमा ओलीले अहिलेसम्म कमाएको साख र इज्जत माटोमा मिल्ने चेतावनी एमाले पंक्तिले दिइरहेको छ ।

यतिबेला सरकार गिर्ने र नयाँ बन्ने हल्ला जोडसँग चलिरहेको छ । हावा नचली पात हल्लिएको होइन । ओली सरकारको उपादेयता सकिएको ठहरमा माओवादी केन्द्र पुगिसकेको छ, त्यसैले राष्टिय सरकारको आवाज उठाएको छ । राष्टिय सरकार निर्माण गरेर मुलुकमा विद्यमान समस्या समाधान गर्न आफू जस्तो त्याग गर्न पनि तयार रहेको कुरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । यो सरकार रहेसम्म मुलुकमा विद्यमान समस्याले निकास नपाउने प्रष्ट देखिएको अवस्थामा प्रधानमन्त्री ओलीले पनि त्याग गर्नुपर्ने धारणा माओवादी केन्द्रका नेताहरुको रहेको छ । तर, ओली भने आफू रहँदिन भने अरु पनि कोही बाँकी रहँदैनन् भन्दै डुंगा प्वाल पार्ने शैलीमा अगाडि बढ्न थालेको बुझिन्छ ।
माओवादी केन्द्रले भने ओलीबाट न्यूनतम इमानदारीको माग गरेको छ । नौ बुँदे सहमति ओलीले इमानदारीपूर्वक पालना गर्ने हो भने यो सरकारलाई निरन्तर गर्दै राष्टिय सरकार निर्माणमा अघि बढ्ने माओवादी केन्द्रको धारणा छ । विगतको भद्र सहमतिको मूल मर्म नै नौ बुँदे हो र ओलीले भद्र सहमति स्वीकारेका पनि छैनन् । भित्री सहमति नमान्ने हो भने सार्वजनिक रुपमा गरिएको र हस्ताक्षर गरिएको सहमति तत्काल कार्यान्वयन हुनुपर्ने धारणा माओवादी केन्द्रको छ । यस्ता सहमति र अन्य कुनै पनि विषयमा इमान्दारिता नदेखाउने, बाहिर अडान देखाउने भित्र चाहिँ त्वं शरणम् गर्दै खोक्रिँदै जाने हो भने ओलीसँगको सहयात्रा जारी रहन नसक्ने धारणा माओवादी केन्द्रबाट आइरहेको छ ।
‘ओलीले इमान नदेखाएका हुन्, एमालेले होइन,’– एमालेका धेरै नेताहरुको भनाइ यही छ । त्यसैले एमाले नेताहरु झलनाथ, माधव र वामदेवहरुले ओलीलाई किनारा लगाएर भए पनि यो गठवन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा देखिएका छन् ।
सरकारको भविष्य धरापमा परेको निश्चित रुपमा हो र यसमा अब कांग्रेसको भूमिका के भन्ने प्रश्न उठिरहेको छ । सत्ताको खेलका लागि झेली खेल खेल्न कांग्रेस पनि कम माहिर छैन । मुलुकका समस्या समाधान हुने गरी नयाँ ढंगले सोंच्ने कि ‘उसको ठाउँमा म’ भन्ने शैलीमा मात्र सोंच्ने भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाले सोच्नुर्पे भएको छ । कांग्रेसले दक्षिणपन्थी गठवन्धनको नेतृत्व गर्न चाहिरहेको छ तर माओवादी केन्द्र समाधानमुखी व्यापक सहमतिको सरकारको पक्षमा देखिएको छ । कांग्रेसलाई जसरी भए पनि सरकार चाहिएको छ तर माओवादी केन्द्र भने अहिले नै सरकारमा छ । ओलीको काँध फेर्नु भनेको समाधानका लागि नयाँ शिराबाट काम थाल्नु पनि हो भन्ने कांग्रेसले स्वीकार्न सकेको छैन ।
एमालेसँग माओवादी केन्द्रले गरेको नौ बुँदे सहमतिले शान्ति प्रक्रियालाई सुन्दर गन्तब्यमा पु¥याउन सक्छ भन्ने तथ्य कांग्रेसले अझै आत्मसात गरिसकेको छैन । त्यसैले माओवादी केन्द्र यही गठवन्धनलाई निरन्तरता दिँदै नेतृत्व फेरबदल गरेर नयाँ ढंगले समाधान खोज्न चाहन्छ भन्ने प्रष्ट छ । यो अवस्थामा कांग्रेसले व्यापक सहमतिको राष्ट्रिय सरकार निर्माणमा योगदान गर्छ भन्ने आश माओवादी केन्द्रका नेताहरुले गरे पनि भर चाहिँ परेका छैनन् ।
उता, ओलीलाई विश्राम दिएर भए पनि यो गठवन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा झलनाथ, माधव र बामदेवहरु उभिन थालेका छन् । यसबाट सत्ता राजनीतिमा उथलपुथल नहुने बरु ‘सेफ ल्याण्डिङ’ हुने सम्भावना पनि प्रबल देखिएको छ । समयबद्ध साप्ताहिकबाट











