व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले सरकारलाई समन्वयात्मक विशेष कार्य सञ्चालन केन्द्रको स्थापना गर्न निर्देशन दिएको छ ।
वर्षा सुरु भएसँगै देशभर देखिएको बाढी–पहिरोको प्रकोपबाट पीडित भएकाको छिटोभन्दा छिटो उद्धार गर्न तथा राहत वितरण गर्नका लागि स्थानीय तहदेखि केन्द्रसम्म समन्वय नभएको देखिएकाले सो केन्द्र स्थापना गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
सोमबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा उपप्रधान तथा रक्षामन्त्री भीम रावल, गृहमन्त्री शक्ति बस्नेत नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका एआईजी केदार साउद तथा सशस्त्र प्रहरीका एआईजी कृष्णकुमार तामाङसँग समितिले सरकारको तयारी बारे जानकारी लिएको थियो ।
गृहमन्त्री शक्ति बस्नेतले २०७३ बैशाख १ देखि असार १९ सम्म देशका विभिन्न जिल्लामा ९२ बाढीका घटना भएको र त्यसका कारण ३२ जनाको मृत्यु हुनुका साथै १७ जना बेपत्ता तथा ४८ घाइते भएको जानकारी समितिलाई दिएका थिए । उनले बाढीका कारण १०४ घर पूर्ण क्षति र १५७ घरमा आंशिक क्षति भएको समेत बताएका थिए । यस्तै चट्याङ ११३ घटनामा परी ६२ जनाको मृत्यु भएको र १३६ जना घाइते भएको उनले बताए ।
उनले सरकारले प्रकृतिक प्रकोपका कारण पीडित भएकाको उद्धार र रहात वितरणमा सरकारले आफ्नो सम्पूर्ण निकायको परिचालन गरेको पनि दाबि गरेका थिए ।
बैठकमा उपस्थित सांसद नविन्द्रराज जोशी, श्यामप्राद ढकाल, युवराज ज्ञवाली, टिकाराम थामी, गंगालाल तुलाधर, सञ्जकुमार गौतम लगायतले सरकारले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्व तयारी नगरेकोमा सरकारको आलोचना गरेका थिए ।
सांसदहरुले सरकारले तत्काल सातै प्रदेशमा उद्धारका लागि एक–एकवटा हेलिकप्टर राख्नुपर्ने माग गरेका थिए । उनीहरुले सुरक्षा निकायलाई उद्धारका लागि आवश्यक प्राविधिक सामाग्रीहरुको उपलब्ध गराउन सरकारलाई आग्रह गरेको थियो ।
सांसदहरुको माग प्रति सकारात्मक रहेको बताउँदै रक्षामन्त्री भीम रावलले हाललाई इटहरी, सुर्खेत र केन्द्रमा मात्रै हेलिकप्टर राख्न सकिने अन्यत्रका लागि खरिद प्रकृया अगाडी बढाएको जानकारी दिएका थिए ।
समितिले बाढी–पहिरोमा उद्धारका लागि औचित्य देखाएर आवश्यक सामाग्री खरिद गर्न माग गरे सुरक्षा निकायलाई त्यस्ता सामाग्री खरिद गर्न दिनका लागि सरकारलाई निर्देशन समेत दिएको छ ।
बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाले, एआईजी केदार साउदले नेपाल प्रहरीले र एआईजी कृष्णकुमार तामाङले सशस्त्र प्रहरीले प्राकृतिक प्रकोपपछि उद्धार कार्यमा गरेका कामकारवाहीका बारे जानकारी गराएका थिए ।












