२० असार, ललितपुर । शुक्रबार ललितपुरको कक्षाकोठामा पढ्दापढ्दै पुरिएर प्राण गुमाएका बालिका अञ्जना पुन र कृपा राईको शोकमा सोमबार ललितपुरका निजी विद्यालयहरु बन्द गरिएका छन् । यस्तो घटनाका दोषीलाई कारवाही गर्न सर्वत्र माग भैरहँदा दोषी कर्मा लामा भने फरार भएका छन् ।
जग्गा प्लटिङ गरेर विक्री गर्ने नाउँमा कमजोर पर्खाल बनाएका लामा पक्राउ पर्ने डरले फरार भएका हुन् । गृहमन्त्री शक्ति वस्नेतले भने घटनाका दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए पनि प्रहरीले उनलाई पक्राउ गर्न समेत सकेको छैन ।
माथिको तस्वरिमा देखिने वायाँतिरका दुई तस्वीर क्रमशः अकालमा ज्यान गुमाएका दुई बालिकाको हो भने दायाँको तस्वीर कर्मा लामाको हो ।
गुण्डागर्दीको भरमा सस्तोमा जग्गा हात पारेर टालटुले निर्माण गर्ने र महंगोमा जमिन बिक्री गर्ने कर्मा लामालाई कारवाही नहुने हो कि भन्ने आशंका बढ्दै गएको छ ।
पीडित अभिभावक र स्थानीयवासीले कर्मालाई कर्तव्य ज्यान मुद्धामा सजाय दिइनु पर्छ भन्ने माग राखेका छन् ।
कृपा र अञ्जनाको परिवार अहिले गहिरो शोकमा छ । अझ अञ्जनाको त बाबुको पहिले नै निधन भएको थियो । उनकी आमाकी एक मात्रै आशा अञ्जना थिइन् । उनलाई पनि पर्खाल ढल्दा किच्यो । अञ्जनाकी आमा वीना अहिले अहिले साहाराविहीन भएकी छिन् ।
कम उमेर भए पनि पढाइमा सधैंं प्रथम हुने कृपा राई विद्यालयकी प्रतिभाशाली छात्रा थिइन् । यता पुष्पाञ्जलि विद्यालयसँगै प्लटिङ गर्ने कर्मा लामा भने आफूलाई कर्मा घिसिङ भनेर परिचय दिन्थे । चलचित्र नायिकाहरुसँग फोटो खिचाएर आफूलाई गायक र प्रोड्युसर भएको बताउँथे ।
भिरालो जमिन किनेर त्यसलाई सम्याउने र कमजोर पर्खाल लगाउने कर्माको कुकर्मले दुई कोपिलाको जीवन चुँडिएको छ ।
कर्माले लगाएको पर्खाल मापदण्डविपरीत रहेको सरकारी अधिकारीहरुले बताइसकेका छन् । नियमपालना गरेर पर्खाल बनाइदिएको भए आज यी दुई बालिकाले ज्यान गुमाउन पर्दैन थियो ।












