१९ असार, काठमाडौं । आफ्नो दलका अध्यक्ष केपी ओलीसँग पछिल्लो समय असन्तुष्ट बनेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारको विकल्प खोज्ने विषयमा मुख खोलेका छन् । खनालले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी सदैव तयार रहेको भन्दै उनले आइतबार यस्तो संकेत गरेका हुन् ।
एमालेको स्थायी कमिटीले नै सो प्रस्ताव पारित गरिसकेको उल्लेख गर्दै उनले यसबारे जस्केलामा नभई मझधारमै आएर छलफल गर्न कांग्रेस र माओवादी केन्द्रलाई आग्रह गरे
व्यवस्थापिका–संसद् परिसरमा नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने “संविधान कार्यान्वयनमा सहजताका लागि राष्ट्रिय सहमतिको सरकारले राम्रो वातावरण निर्माण गर्नेछ, त्यस्तो सरकारको नेतृत्व गर्न वा त्यसबारे छलफल गर्न एमाले जहिले पनि तयार छ ।”












