१९ असार, काठमाडौं । देशमा धेरै क्रान्ति भए तर पहिलो क्रान्तिले २००७ सालमा राणाशासनको अन्त्य नै नेपाली क्रान्तिको महत्त्पूर्ण सुरुवात भएको थियो । त्यही २००७ को क्रान्तिपछि कांग्रेस र एमाले लगायतका दलहरु सत्ता लुछाचँडीमा रमाइरहेका छन् । तर अहिलेको स्वतन्त्रताका लागि लडेका प्रजातन्त्रका सेनानीलाई कांग्रेसले त के अरु दलहरुका नेताहरुले समेत सम्झेका छैनन् । त्यस्तै एक योद्धा हुन् बलबहादुर राई ।
खोटाङ– खोटाङको उत्तरी गाविस ज्यामिरे–९ का बलबहादुर रुम्दाली राईको जवानी प्रजातन्त्र प्राप्तीको लडाइँमै बित्यो। हाल ८५ वर्ष पुगेका रुम्दालीको बैंसको तातो जोस र रातो रगत जहानीयाँ राणा शासनबिरुद्ध बन्दुक उठाउनदेखि प्रजातन्त्र स्थापनासम्मै खर्च भए। २००७ सालमा प्रजातन्त्र प्राप्तीका लागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर विभिन्न लडाइँमा मोर्चा सम्हालेका उनले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रहदेखि २०४६ सालको प्रजातन्त्र स्थापनासम्म आफ्नो भूमिकालाई दर्बिलो रुपमा प्रस्तुत गरे।
जीवनका अधिकांश समय प्रजातन्त्रका लागि बिताएका रुम्दालीजस्ता प्रजातन्त्र सेनानीकै त्याग, तपस्या र बलिदानले देशमा प्रजातन्त्र उदायो। देशबाट जहानीयाँ शासन अन्त्य भयो। प्रजातन्त्र आयो । जनता सार्वभौमसत्ता सम्पन्न बने। आफ्नो मालिक आफैं बने। गाउँ–गाउँमा उनको र उनीजस्ता योद्धाको हाईहाई भयो। तर, जीवनभर ‘मेरो देश र प्रजातन्त्र’ भनेर समर्पित भएका रुम्दाली वृद्धावस्थामा भने आफ्नै शरीरको उपचार गर्न नसकेर समस्यामा छन्। घर खोटाङ भए पनि उनी हाल प्रकाशपुर–८ सुनसरीमा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका छन्।
दम र फोक्सोमा भएको समस्यका कारण राई २ वर्षदेखि ओछ्यानमा थलिएका छन्। बलबहादुरको फोक्सो ‘ड्यामेज’ हुन लागेकाले दैनिक औषधिका भरमा बचाइएको ज्वाईँ भवानीशंकरले बताए। समस्या आइरहने भएकाले उनलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने हुन्छ। उनको उपचारमै मासिक १० हजार खर्च हुने गरेको छ। ‘वृद्ध बुबाको औषधि उपचारमा मासिक दश हजार बराबरको खर्च हुन्छ,’ भवानीशंकरले भने, ‘समस्या बल्झिने बित्तिकै अस्पताल लगेर अक्सिजन दिनुपर्छ।’ प्रजातन्त्र स्थापनाका लागि पसिना बगाएका उनलाई रोगले थला पारेको र उपचारको विषयमा अहिले कसैलाई चासो छैन। ओछ्यानबाट कम्तीमा शुभेच्छुकको सहयोगको अपेक्षा गर्छन् उनी। तर, उपचारमा कसैले ध्यान दिएको छैन। कुनै समय सबैको अगाडि हाईहाई कमाएका राईलाई अहिले ओछ्यानमा सहानुभूतिसम्म नमिल्दा हुनसम्म दुःख लाग्छ। एउटा निष्ठावान राजजीतिज्ञको जीवनको उत्तराद्र्धमा देखिएको यो नियतिले अन्य नेतालाई समेत छुन सकेको छैन । उनले बिरामीका कारण अप्ठ्यारो परेकाले सहयोगको अपेक्षा गरेको प्रकाशपुर पुगेर घेटघाट गरेका एमाले खोटाङका अध्यक्ष बबी चामलिङले बताए।
‘कुराकानी गर्ने क्रममा उहाँ गम्भीर हुनुभयो,’ बलहादुरसँग शनिबार भेटघाट गरेका चामलिङले भने, ‘सहयोग र सम्मान गर्नुहोस् भन्दिन, गर्नु भए आभारी हुनेछु भन्नुभयो।’ उनले पार्टीकै नीति र निर्देशनअनुसार इमानदारिताका साथ काम गरे, तर समस्या परेको बेला पार्टीको नजर नपरेको भन्दै उनी दुःख व्यक्त गर्छन्।
२०४९ सालतिर कांग्रेसका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आमनिर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बने पनि पराजित भएका थिए। सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष बनेका उनी करिब १५/२० वर्षअघिदेखि जिल्ला बाहिर बस्न थालेको कांग्रेस खोटाङका सह–सचिव प्रेमकुमार राई बताउँछन्। ३ वर्षअघिसम्म उनी पुर्खौली घर आउने जाने गरेका थिए। तर उमेर ढल्केर हिँडडुल गर्न नसक्ने अवस्था भएपछि उनी ज्यामिरे जान आउन सकेका छैनन्। कहिले काठमाडौं, कहिले सुनसरी र कहिले ज्यामिरे गर्दै आएका राई ३ वर्षदेखि छोरीज्वाईँकै घरमा बस्दै आएका छन्। उनका तीन छोरा र तीन छोरी छन्।
प्रजातन्त्रका खातिर लडेका बलबहादुर विरामी भई थलिएको दुई वर्षसम्म कसैको नजर पर्न सकेन। उनको दयनीय अवस्था देखेर गत माघमा कांग्रेसका नेता तिलक तिम्सिनाले उपचार गर्न भन्दै २४ हजार रुपैयाँ थमाइदिएका थिए। समस्यकै कारण त्यो सहयोगलाई उनले हर्षसाथ स्वीकार गरे। त्यसबाहेक उनको हातमा केही सहयोग नपरेको ज्वाईँ भवानीशंकर बताउँछन्। कांग्रेस खोटाङले उनको सहयोगमा केही समयअघि वीरकाजी राईको संयोजकत्वमा सहयोग समिति गठन गरे तर, लक्षित काम गरेन। बलबहादुर खोटाङ्गे भएको नाताले खोटाङका सबै राजनैतिक दलले संयुक्त रुपमा उनको उपचारका लागि पहल गर्ने व्यवस्थाका लागि स्थानीय शान्ति समितिका पूर्वसंयोजक ललितकुमार राईको संयोजकत्वमा आईतबार चार सदस्यीय सहयोग समिति गठन गरिएको छ।
सुनसरी पुगेका बेला फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले अध्यक्ष चामलिङले योद्धाको जीवन बचाउ र सम्मानमा छलफल चलाउन स्थानीय शान्ति समितिका संयोजक श्यामराज राई समक्ष प्रस्ताव गरेको केही दिनमै सहयोग समिति बनाइएको हो। चामलिङ लगायतको टोली बलबहादुरको अवस्था बुझ्न प्रकाशपुर पुग्दैगर्दा कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठको अगुवाईमा शनिबार काठ्माडौंमा बलहादुरको उपचारका लागि ९६ हजार ६ सय रुपैयाँ संकलन गरिएको छ। ‘पार्टीकैतर्फबाट केही रकम संकलन भएको छ,’ कांग्रेस सह–सचिव राईले भने, ‘रकम अरु बढाएर तत्काल बिरामीको हातमा सहयोग रकम पुर्याउने छौँ।’












