१८ असार, काठमाडौं । नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले सरकार परिवर्तनका लागि दौडधूप गरिरहेका वेला सोही दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको बताए ।
सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड उनले दिए । स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्दै पौडेलले संविधानको संरचना अनुसार नै सबै निर्वाचन हुनुपर्ने बताए । संविधान पुनः लेखनका कुरा सम्भव नभएको बताउँदै नेता पौडेलले संविधान संशोधन गरेर मधेसी मोर्चाका माग सम्बोधन गर्न सकिने धारणा व्यक्त गरे । सरकारले वार्ताका लागि पत्र पठाएकाले अब मोर्चालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि अग्रसर हुन उनले आग्रह गरे।












