१८ असार, काठमाडौं । गतवर्षको भूकम्पले हल्लिएको जमिन भासिने असर यस वर्षको वर्षामा बढी देखिएको छ । देशैभरी भारी वर्षा भएपछि भूकम्पले चिरिएका जमिन धसिन थालेका छन् । निरन्तरको वर्षाले सबै नदीमा पानीको वहाव बढेर केही नदी खतराको स्तरमा पुगेका छन् ।
निरन्तरको वर्षापछि पहाडी भेगमा चिरएका डांडै बग्ने खतरा बढेको छ भने तराईमा बाढी र नदी थुनिने संभावनापनि त्यतिकै छ । ‘यही गतिमा निरन्तर पानी पर्दा देशका धेरै ठाउं बाढी पहिरोले बगाउने देखिन्छ,’ त्रिभुवन विश्व विद्यालय पूल्चोक इन्जिनियरिङ क्याम्पस, प्रकोप अध्ययन केन्द्रका उप निर्देशक बसन्तराज अधिकारीले भने ।
विज्ञका अनुसार, भूकम्पले चिरिएका जमिन वर्षामा सबैभन्दा खतरा हुन्छन् । गत वर्ष कम वर्षा भएका कारण चिरिएका जमिनमा धेरै पहिरो गएन । तर यो वर्ष त्यो खतरा दोब्बर भएको उनीहरुको निष्कर्ष छ । ‘जमिन चिरिएका छन्, तर पुरिएका छैनन् । त्यहां पानी परेपछि धसिएर पहिरो जान्छ,’ अधिकारीले भने, ‘धादिङमा बिहीबार गएको पहिरो त्यसैको नमूना हो ।’
गत वर्ष देशभरी मनसुनमा औषतभन्दा कम वर्षा भएको थियो । यो वर्ष भने विज्ञहरुले देशभरी बढी वर्षाको अनुमान गरेका छन् । मनसुनको सुरु मै भएको वर्षाले समेत त्यो अनुमान पुष्टी गरेको छ । यस्तो वर्षामा भूकम्पले चिरिएका डाँडा अनुमानै नगरिका ठाउंमा खस्न सक्ने उनको अनुभव छ ।
अधिकारीले भने, ‘काभ्रेको माथिल्लो भेगमा चिरिएकाजमिन टालिएको छैन, पानी छिरेपछि डांडै झर्ने खतरा छ,’ सो क्षेत्रमा गत वर्ष डाडाको लेजर स्क्यान गरेका थिए । काभ्रो चन्दनी मन्दन गाउंमा माथी धांजा फाटेको छ त्यहां १० सेन्टीमिटरसम्मको चिरा देखिएका छन् तर टालिएका छैनन् । ‘यस्ता डाँडा पानी परेपछि माथीबाट खस्ने संभावना धेरै हुन्छ, सरकारी ध्यान जान जरुरी छ’ अधिकारीले भने ।












