१७ असार, काठमाडौं । पक्राउ परेका ३६ जना नक्कली चिकित्सकले उपचारका नाममा सर्वसाधारणसँग १६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।
अनुसन्धानका क्रममा खुलासा भएको १६ करोड ठगीको रकम पीडितका नाममा भराई नक्कली चिकित्सकहरूलाई ५र५ वर्ष कैद सजाय माग गर्दै प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयसमक्ष अनुसन्धानको प्रस्तावित राय पठाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबीबीएस र एमडी गरेर चिकित्सकको रूपमा काम गरेको संस्थाबाट प्राप्त आम्दानी विवरणका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगीको रकम खुलाएको हो । चिकित्सकका रूपमा काम गरेको संस्थाबाट लिएको मासिक पारिश्रमिक, दैनिक जाँच्ने बिरामीको संख्या आदिका आधारमा ३६ जनाले सर्वसाधारणबाट १६ करोड रुपैयाँ ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको हो ।
‘उनीहरू कार्यरत संस्थाबाट लिने मासिक पारिश्रमिक, दैनिक जाँच्ने बिरामीको संख्या र शुल्क विवरणको आधारमा बिगो रकम निकालेका हौं,’ अनुसन्धानमा संलग्न ब्युरोका एक अधिकारीले भने, ‘३६ चिकित्सकबाट करिब १६ करोड रुपैयाँ ठगी भएको देखिन्छ ।’
ब्युरो अधिकारीका अनुसार काठमाडौंका केही चिकित्सकको अनुसन्धान र प्रस्तावित राय पठाउन बाँकी छ ।












