१६ असार, काठमाडौँ । एमाले र नेकपा माओवादीबीचको भएको भद्र सहमति कार्यान्वयन नहुने भएपछि नेकपा माओवादी केन्द्र सरकारको विकल्पमा फेरि अघि बढेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस सहमत देखिएपछि सरकार जोगाउन वैशाख तेस्रो साता ९ बुँदे सहमति गरिएको थियो । त्यो सहमति पूरा नहुने भएपछि फेरि माओवादी, कांग्रेसको साथ लिएर सरकार ढाल्ने अन्तिम कसरतमा जुटेको छ । एमालेले मागेको असार १५ सम्मको समयसीमा पूरा भएको भन्दै माओवादी नेताहरू नयाँ सरकार समीकरणको कसरतमा जुटेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका दोस्रो बरियताका नेताहरुको भेटघाट बाक्लो भइरहेको छ ।
असार ७ मा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डको भेटमा प्रचण्डले आफू बजेट पारित भएपछि सरकार परिवर्तन गर्न तयार रहेको बताएका थिए । तर बजेट पारित अगावै सरकार ढाल्ने तयारी सुरु भएको छ । बुधबार बेलुकी बसेको माओवादी संसदीय दलको बैठकमा नयाँ सहमतीय सरकारको गठनबारे छलफल भएको थियो । प्रचण्ड सकेसम्म आफ्नै नेतृत्वमा सहमतीय सरकारका लागि प्रयास गर्ने, नभए बहुमतीय सरकार भए पनि ओलीको विकल्प खोज्नुपर्ने निचोडमा छन् । कांग्रेस निर्वाचनसम्म कुनै पनि हालतमा ओली नेतृत्वको सरकारलाई टिकाइराख्न नहुने पक्षमा छ ।












