१६ असार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै आज राजधानीमा प्रदर्शन गरेको छ । कर नतिरेको एनसेलका टावर आक्रमणमा संलग्न रहेको भन्दै आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै माओवादीले विरोध प्रदर्शन गरेको हो । कार्यकर्ता रिहाइसहित भ्रष्ट्राचार र कालोबजारी नियन्त्रणको माग गर्दै विहीबार सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ बुझाएको छ ।
माओवादीका उपत्यका विशेष ब्युरो इन्चार्ज तथा जनपरिषद् प्रमुख सन्तोष बुढामगर लगायतका नेताले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए । शान्तिबाटिकाबाट निस्किएको जुलश सिंहदरबारमा पुगेर सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
नेकपा माओवादीले ज्ञापनपत्रमार्फत भ्रष्ट्राचार, महङ्गी र कालोबजारीको विरोध गर्ने क्रममा देशका विभिन्न स्थानबाट पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई स सम्मान रिहा गर्न पनि सरकारसँग माग गरेको छ ।
विप्लव माओवादीले आफ्ना कार्यकर्ताको रिहाइको मागलाई प्राथमिकताम राखे पनि कालोबजारी नियन्त्रणसँगै भूकम्पपीडितको राहतमा ध्यान दिन समेत सरकारलाई आग्रह गरेको छ । माओवादीले भूकम्पपीडितलाई एकमुष्ठ १० लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ ।
कांग्रेसले एकमुष्ठ दुई लाख दिन गरेको मागलाई उछिनेर माओवादीले १० लाख दिन माग गरेको हो ।













