१६ असार, काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारका रुपमा रहेको शहरको चोकमा रहेको बुद्धमूर्ति हटाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूर्ति राख्ने निर्णय स्थानीय प्रशासन र स्थानीयवासीले गरेका छन् । यस्तो निर्णयसँगै भैरहवामा विवाद चुलिएको छ । वुद्ध धर्मसँग सम्बन्धित संघसंस्थाहरुले यसको विरोध गरेका छन् ।
राजनीतिक दलहरुको पहलमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिद्धार्थ चोकमा रहेको वुद्धको मूर्ति हटाएर देवकोटाका मूर्ति राख्ने निर्णय गरेको हो । केही मधेसकेन्द्रित दलहरुले भने यही विषयलाई लिएर भैरहवामा फेरि हिंसा भड्काउने कसरत गर्दैछन् । भैरहवामा केही महिनापहिले मधेसकेन्द्रित दलहरुले हिंसात्मक आन्दोलन गर्दा सर्वसाधारणका ज्यान गएको थियो ।
पञ्चायतकालदेखि नै रहेको वुद्धको सो मूर्ति हटाउन लागेकोमा लुम्बिनी विकास कोषले समेत आपत्ति जनाएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जनले बुद्ध जन्मेको पवित्र स्थालमा रहेका बुद्धका मूर्तिहरु स्थानान्तरणको नाममा हटाउनु आपत्तिजनक रहेको बताएका छन् । बुद्धको जन्मस्थल आसपासमा रहेका कुनै पनि सम्पदालाई तलमाथि गर्नु उचित नुहने उनले बताएका छन् ।
बौद्ध धर्मावलम्बीहरुको यही भावनालाई समात्दै केही हिंसात्मक दलले भने हिंसा भड्काउने कसरत गरेको स्रोत बताउँछ ।
प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले वुद्धमूर्ति हटाएर देवकोटाको मूर्ति राख्ने विषयमा स्थानीयवासीबीच कुनै विवाद नरहेको दावी गरेका छन् ।
वुद्धमूर्ति रहेको चोकको नाम सिद्धार्थ चोकका नामले चिनिने भए पनि नगरपालिकाले दुई वर्ष अघि नै देवकोटा चोक भनेर नाम फेरेको स्थानीयवासीहरुले बताएका छन् ।












