१६ असार, भीमदत्तनगर । गमलामा धान रोपेका कारण जनस्तरबाट गमला मन्त्रीको उपाधि भएका कृषिमन्त्री हरिबोल गजुरेलले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बिहीबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान कार्यान्वयनका साथै संवैधानिक सङ्कट आउन नदिन तत्काल दलबीच सहमति भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए ।
‘ढिलो भइसकेको छ,’ मन्त्री गजुरेलले भने, ‘जसको नेतृत्वमा राष्ट्रिय सरकार बने पनि तत्काल बनाउनु आवश्यक छ ।’
नेपाली काँग्रेस ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार, वर्तमान सरकारका प्रधानमन्त्रीले पनि आफ्नै नेतृत्व र नेकपा माओवादी केन्द्रले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहज हुने भन्दै आफ्नै अध्यक्षको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार खोजी रहेको मन्त्री गजुरेलको भनाइ थियो ।
यसैबीच मन्त्री गजुरेलले वुधबार राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा गमलामा धान रोपेकोमा टीकाटिप्पणी भएपछि आत्मआलोचना गरेका छन् । मन्त्री गजुरेलले गमलामा धान रोपेर कार्यक्रममा उदघाटन गर्नुलाई अन्यथा नलिन आग्रह समेत गरे ।
उनले गमलामा धान रोप्ने विषयमा पत्रकारले समाचार बनाउनुलाई पत्रकारिताको अधिकार भएको बताए । ‘यसले किसान दाजुभाइमा कुनै समस्या परे क्षमा चाहन्छु,’ मन्त्री गजुरेलले भने, ‘गमलामा पानी हालेर उदघाटन गर्नु कृषि मन्त्रालयसँग सम्बन्धित पनि हो ।’












