आन्दोलनरत संघीय गठबन्धन र मधेसी मोर्चाबीचको विवाद झनै चुलिएको छ । मोर्चाभित्रको तमलोपा र सद्भावना पार्टीले सरकारसँग मोर्चाले वार्ता गर्ने बताइरहेका बेला मोर्चाकै एक घटक संघीय समाजवादीले भने यसलाई अस्वीकार गरेको छ ।
गठबन्धनका संयोजक रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानको लागि वार्ता पनि गठबन्धनसँगै गर्नु पर्ने शर्त अगाडि सारेका हुन् ।
बुधबार काठमाडौमा आयोजित साक्षात्कारमा उनले गठबन्धनको आन्दोलनमा मधेसी मोर्चाको समेत समर्थन रहेको दावी गर्दै मोर्चाका घटकका कार्यकर्ताहरु अनसनमा सहभागी भइरहेको बताए । राजेन्द्र महतो र महन्थ ठाकुर गठबन्धनको विरोधमा सहभागि नहुनुको कारण भने आफूलाई थाहा नभएको यादवको भनाइ थियो ।
गठबन्धनमा आबद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको दावी गर्नुभयो । यादवले सबैले समर्थन गरिसकेको आन्दोलनलाई सम्बोधन नगर्ने हो भने राज्यले शान्तिपूर्ण रुपमा कुरा सुन्दैन भन्ने पुष्टि हुने र त्यसपछि मुलुक हिंसात्मक रुपमा जाने चेतावनी दिए । राज्यपक्षले नै समस्याको समाधान गर्न नसकेको आरोप उनले लगाए ।
यादवले असार मसान्तसम्म आफूहरुको आन्दोलन सत्याग्रहकै रुपमा अघि बढ्ने र त्यसपछि पनि नसुने आन्दोलनको स्वरुप परिवर्तन हुने स्पष्ट पार्दै मुलुकमा विभेद कायम रहेसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।












