१५ असार, काठमाडौं । भूकम्पपीडितलाई राहत दिने विवाद सुल्झिएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारलाई अप्ठेरो पार्ने अर्को योजना सार्वजनिक गरेको छ । राहतबारे सरकार र आफूहरुबीच भएको सहमतिपछि संसद खुले पनि निर्वाचन र संविधान कार्यान्वयनको कार्यतालिकामाथि कांग्रेसले आपत्ति जनाएको हो । प्रधानमन्त्री केपी ओलीले वुधबार संसदलाई सम्बोधन गरेलगत्तै कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले यस्तो आपत्ति जनाएका हुन् ।
मुलुकमा विभिन्न निर्वाचन आवश्यक रहे पनि सरकारले घोषणा गरेको निर्वाचन गर्न सहज नहुने भन्दै देउवाले चेतावनी समेत दिए । राहत प्रकरणको अडानपछि निर्वाचनमा कांग्रेसले कति मत ल्याउँछ भन्ने अनुमान पछि मात्रै आफूहरुले निर्वाचनलाई समर्थन गर्ने देउवाको आशय थियो ।
संविधानलाई कार्यान्वयन गराउने विषयमा आफूहरुको कुनै विरोध नभए सरकारले कार्यान्वयन कार्यतालिका एकलौटी ढंगले ल्याएकोप्रति समेत देउवाले आपत्ति जनाए ।
त्यस्तै भूकम्प पीडितले राहत नपाउँदासम्म चुप लागेर नबस्ने चेतावनी दिए । प्रतिपक्षले जनताका पक्षमा उठाएका माग सम्बोधन भएको भन्दै उनले खुसी व्यक्त गरे ।
प्रधानमन्त्रीले संसदमा बोल्दै गर्दा कांग्रेस सांसद किन उठेर विरोध गरेका हुन ? भन्ने प्रश्नमा देउवाले भने प्रधानमन्त्रीले पीडितलाई डेढ लाख दिन सकिने छ मात्र भन्नुभएको र सहमति अनुसार दिइनेछ भन्ने कुरा छुटेकाले विरोध जनाइएको हो ।
देउवाले प्रधानमन्त्री ओलीले पछि त्यो कुरा सच्याइसकेकाले विरोध पनि सकिएको भन्दै माग पूरा नभए फेरि पनि संसद अबरुद्ध गर्ने चेतावनी दिए ।












