१५ असार, काठमाडौं । राजाको सक्रिय शासनकालमा विश्वका कम्युनिस्ट नेताका तस्वीरहरु कार्यालयबाट हटाएको एमालेभित्र फेरि एकपल्ट पार्टीको नाम फेर्ने विषयमा बहस भएको छ । पार्टी अध्यक्ष केपी ओली कम्युनिस्ट शब्द हटाएर नाम राख्ने पक्षमा देखिएका छन् भने वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल ओलीको विपक्षमा ।
सन्दर्भ हो सोसलिस्ट इन्टरनेसनले नेकपा एमालेलाई कम्युनिस्ट शब्द हटाएर आफ्नो संठठनमा सदस्य बन्नका लागि गरेको आग्रहपछि एमालेभित्र भएको बहसको ।
सोसलिस्ट इन्टरनेसनले संगठनमा सदस्य बन्ने बारे के छ धारणा भन्दै पत्र पठाएको छ । कम्युनिस्ट पार्टीलाई यस्तो प्रश्न आएपछि विदेश विभाग प्रमुख माधव नेपालले स्वभाविक रुपमा स्थायी समिति बैठकमा कुरा राखे । पार्टी अध्यक्ष केपी ओलीले प्रतिक्रिया दिँदै भने, ‘हुन त त्यो संस्था डेट एक्सपायर हुँदैछ । तर, कम्युनिष्ट नै नाम राखेर हामी कति दिन चल्ने हो ?’ झलनाथ खनालले तुरुन्तै प्रतिवाद गरे, ‘खबरदार, हाम्रो पुस्ताभरी हाम्रो पार्टीको नाम फेर्ने, कम्युनिस्ट शब्द छोड्ने बारे कुरै नगर्नुहोस्, सोच्दै नसोच्नुहोस् ।’
माधव नेपालले पनि यो कुरा सम्भव नभएको बताउँदै ओलीको विपक्षमा उभिए ।
यो संगठनको सदस्यता लिँदा स्वतः कम्युनिष्ट चिन्तन छाडेको र पुर्णरुपमा सोसल डेमोक्र्याटमा परिणत हुने अवस्था आउने हुँदा यसबारे सुक्ष्म रुपमा छलफल गर्ने निर्णय एमालेले गरेको छ ।












