१५ असार काठमाडौँ । आज असार १५ । कृषिप्रधान देश नेपालका लागि असार १५ सबैभन्दा महत्त्वको दिन मानिन्छ । किनभने असारको मध्य खेती लगाउन चटारो हुने समय हो । धान र कोदो रोप्नका लागि किसानहरु असारमा व्यस्त रहन्छन् । असारमा मुठी रोपे मात्र कात्तिक मंसिरमा मुरी अन्न भित्र्याउन पाइन्छ । मानो खाएर मुरी उब्जाउनका लागि काम गरिने भएकोले असार महिना कृषिप्रधान देश नेपालका लागि निकै महत्वपूर्ण दिन हो ।
खेती लगाउने असार महिनाको मध्य अर्थात् असार १५ लाई केही वर्ष यता धान दिवसका रुपमा मनाउन थालिएको छ । आजको दिनमा रोपाइँजात्रा समेत गरिन्छ । असारे गीत गाउँदै असार १५ मा रमाइलो गर्ने प्रचलन छ ।
शहरमा रहेका राजनीतिक दलका भ्रातृ संगठनहरुले समेत आज रोपाइँ कार्यक्रमको आयोजना गर्दछन् । कृषि मन्त्रालय समेत धान दिवसका अवसरमा रोपाइँ कार्यक्रम राख्ने गरेको छ । गत वर्ष गरिएको रोपाइँ कार्यक्रममा तत्कालीन कृषिमन्त्री हरि पराजुलीले हर्कत गरेपछि मन्त्री पद नै छाड्नु परेको थियो ।
असार १५ को अर्को महत्त्व दही च्युरासँग समेत जोडिएको छ । रोपाइँ गर्दै दही च्युरा खाने प्रचलन भए पनि आजकल सामाजिक संजालका भित्तामा दही च्युराका तस्वीर छाउने गरेका छन् ।