१४ असार, काठमाडौं । कम्युनिस्टहरुलाई संसद विरोधी भनी आरोप लगाउँदै आएको नेपाली कांग्रेस व्यवस्थापिका संसदलाई असफल बनाउने योजनामा लागेको छ । सत्तारुढ दल र कांग्रेसबीच सहमतिका लागि भएका प्रयासमा कांग्रेसले अलिकति पनि लचकता नदेखाएर संसद अबरुद्ध पारिरहने खेलमा देखिएको हो । नयाँ संविधानको कार्यान्वयनको कुरा गर्ने तर संविधान कार्यान्वयका लागि कानुन बनाउनुपर्ने संसद चल्न नदिएर कांग्रेसले संसद र संविधानलाई असफल पार्ने खेलमा लागेको हो ।
कांग्रेसको अडानका कारण संसद सुचारु गर्नका लागि मंगलबार गरिएको प्रयास पनि असफल भएको छ । प्रमुख चार दलीय कार्यदलको बैठकमा समाधान खोज्ने प्रयास भए पनि भूकम्प प्रभावितहरुलाई घर बनाउनका एकमुष्ठ दुई लाख रुपैयाँ दिनुपर्ने अडान कांग्रेसले नछाडेपछि चार दलीय कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको हो ।
नेताहरुले भुकम्प प्रभावितहरुलाई किस्ताबन्दीमा चार÷पाँच महिनाभित्र सबै अनुदान दिन गरेको प्रस्ताव काँग्रेसका नेताहरुले ठाडै अस्वीकार गरेपछि मंगलबार विहान सिंहदरबारमा बसेको चार दलीय कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको हो । बैठकमा काँग्रेस नेताहरुले भुकम्प गएको १४ महिनामा जम्मा पाँच हजार प्रभावितले पहिलो किस्ताको ५० हजार रुपैयाँ मात्र पाएको अवस्थामा चार पाँच महिनामा सबै प्रभावितलाई पूरै अनुदान दिइसक्ने कुरामा विश्वास गर्न नसक्ने बताए । उनीहरुले प्रभावितहरुलाई अस्थायी टहराबाट निकाल्नका लागि अनुदानको रकम एकमुष्ट दिइनु नै समस्याको समाधान भएको बताए ।
कांग्रेसका नेताहरुले एकमुष्ट अनुदानको अडान नछोडेपछि प्रमुख सत्तारुढ नेकपा एमालेका नेताहरुले न अनुदा दिने कुरा दाताहरुसँग पनि सम्बन्धित भएको भन्दै यस विषयमा शीर्ष तहमा नै छलफल गर्नुपर्ने बताए । एमाले नेताहरुले शिर्ष तहमा छलफल गरेर समस्याको समाधान खोज्न गरेको प्रस्तावप्रति कांग्रेस अस्वीकार गरे पनि नेकपा माओवादी केन्द्र र राप्रपा नेपालका नेताले पनि समर्थन जनाएका थिए ।












