१४ असार, काठमाडौं । तराई मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँ भन्दा बढी उपलब्ध गराइसकेको छ।
मधेस आन्दोलन र सीमांकन विवादका कारण मुलुकका विभिन्न ठाउँमा भएका झडपमा मारिएका व्यक्तिका आश्रितलाई सहित परिवारसरह १०÷१० लाख रुपैयाँ दिने र सबै घाइतेको उपचार खर्च बेहोर्ने मन्त्रिपरिषदको निर्णयानुसार गृह मन्त्रालयले सम्बद्ध सबै जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरिसकेको छ। अधिकांश आश्रित परिवारले रकम बुझिसकेका छन्।

मधेससहित विभिन्न आन्दोलनमा पहिचान भएका अधिकांश घाइते र तिनका कुरुवाले समेत उचार खर्च बुझिसकेका छन्। प्रदेशको सीमांकनसम्बनधी विभिन्न आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरी गरी ५७ जनाको मृत्यु भएको थियो।
आन्दोलनमा घाइते भएकाहरुको सबै विवरण गृह मन्त्रालयमा अझै आइसकेको छैन। गृहका अनुसार ४४ आन्दोलनकारीका परिवारलाई राहत दिन रकम निकासा भइसकेको छ।
४४ मध्ये ४० जना मधेस आन्दोलनमा मारिएका हुने भने ४ जना जुम्ला र सुर्खेतको आन्दोलनमा मारिएका हुन्।











