१३ असार, काठमाडौं । भूकम्पपीडितलाई एकमुष्ठ २ लाख रकम दिनुपर्ने भन्दै संसद अवरुद्ध गरिरहेको नेपाली कांग्रेसलाई जिल्याउने गरी ३ लाख रकम दिने तयारी एमाले र माओवादीले गरेका छन् । कांग्रेसले आफ्नो गिरेको साख उठाएर निर्वाचनमा जाने योजना बनाएको विश्लेषण गर्दै त्यसलाई फिका बनाउन कांग्रेस एमाले नयाँ योजनामा लागेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भूकम्प प्रतिरोधी घर निर्माणका लागि पीडितलाई कम्तीमा पनि ३ लाख रुपैयाँ दिने तयारी आफूहरुले गरिरहेको खुलासा गरेका हुन् । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले भने कांग्रेसले २ लाख मात्र दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरिरहेका छ तर हामीले ३ लाख दिने गृहकार्य गरिरहेका छौं ।
यसका लागि कांग्रेससँग सहमति गरेर पीडितलाई ३ लाख रुपैयाँ प्रदान गर्नुपर्ने उनले बताए । पीडितलाई ३ लाख दिँदा कांग्रेसले विरोध गर्न सक्ने भन्दै त्यसका लागि सहमति गर्नु आवश्यक रहेको प्रचण्डको भनाइ थियो ।
भूकम्पपीडितलाई ३ लाख रुपैयाँ दिने विषयमा प्रधानमन्त्री केपी ओलीसँग आफ्नो छलफल भएको प्रचण्डले बताए । प्रचण्नयाँ कार्यविधि बनाएर भए पनि भूकम्प प्रभावितहरुलाई ठोस संरचना बनाउनका लागि आवश्य रकम छुट्टयाउनु पर्ने उनको धारणा थियो । ३ लाख दिन पुरानो कार्यविधिअनुसार नमिल्ने भए र दाता वा अन्य निकायको कुरा बाझिने भए त्यसलाई परिवर्तन गरेर नयाँ कार्यविधि बनाउन पनि आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको प्रचण्डले बताए ।
दाताहरुले समेत एकमुष्ठ २ लाख रकम दिन नमिल्ने भनिरहेका वेला कांग्रेसले भने भूकम्पपीडितको भावना जित्नका लागि यही माग राखेर संसद चल्न दिएको छैन ।













