मन्त्रीहरु र एमाले नेताको दलबलसहित ओली निर्वाचन आयोगमा
१३ असार, काठमाडौं । निर्वाचन आयोगले सरकारले आग्रह गरेभन्दा पनि पहिले नै स्थानीय निर्वाचन गर्न तयारी गरेकोे खुलासा गरेको छ । प्रधानमन्त्री केपी ओली शर्मा ओलीले मंसिरमा स्थानीय निर्वाचन गर्ने गरी तयारीमा जुट सोमबार दिएको निर्देशनपछि आयोगले कात्तिकमै निर्वाचन गर्ने गरी तयारी गरेको जवाफ फर्काएको हो ।

सोमबार निर्वाचन आयोगको निरीक्षण गर्दै ओलीले संविधान कार्यान्वयन कार्यतालिका अनुसार विभिन्न निर्वाचनका लागि तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिए । ओलीले अर्को वर्षको माघभित्र सबै किसिमका निर्वाचन गरिसक्नुपर्ने भएकाले यसको तयारीमा जुट्न पनि आयोगलाई निर्देशन दिए ।
ओलीले स्थानीयलगायत अन्य सबै निकायको निर्वाचन गर्ने सोचमा सरकार रहेको भन्दै आवश्यक तयारी थाल्न उनले आग्रह गरे । प्रधानमन्त्री ओलीले निर्वाचन सम्पन्न भए पछि मुलुकले गति लिने भन्दै मुलुकको निकासका लागि निर्वाचन अपरिहार्य रहेकोमा जोड दिए ।
प्रधानमन्त्रीसँगै निर्वाचन आयोगमा पुगेका कानुनमन्त्री अग्निप्रसाद खरेलले निर्वाचन गर्नु सरकारको एक मात्र लक्ष्य रहेकाले कानुनी व्यवधानका बारेमा पनि आयोगसँग छलफल भएको जानकारी दिए ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले कात्तिक अन्तिम सातामा स्थानीय निर्वाचन गराउन आयोग सक्षम रहेको बताए । त्यसका लागि निर्वाचनका लागि आयोगले आवश्यक प्राविधिक र प्रशासनिक तयारी गरिसकेको यादवले जानकारी दिए । निर्वाचनको वातावरण बनाउने दायित्व भने सरकारको भएको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रधानमन्त्रीसँगै गृहमन्त्री शक्ति बस्नेत, कानुन मन्त्री खरेल, एमाले महासचिव ईश्वर पोखरेल, एमाले सांसद् राजेन्द्र पाण्डे, भानुभक्त ढकाल पनि निर्वाचन आयोग पुगेका थिए ।












