१३ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खोलेको नयाँ पार्टी नयाँ शक्ति नेपाललाई व्यक्तिमुखी बनाएको आरोप लागेका वेला पार्टीको नेतृत्व साधारण सदस्यबाट चुन्ने निर्णय गरेको छ । पार्टी घोषणामा गरिएको विज्ञापन तथा पोष्टरलगायतका सामग्रीमा भट्टराईको तस्वीर मात्रै राखेर प्रचार गरिएकोले नयाँ शक्तिलाई भट्टराईले आफ्नो व्यक्तित्वमा मात्रै केन्द्रित पार्टी बनाउने महत्वकांक्षा राखेको विश्लेषण भएको थियो ।
नयाँ शक्ति नेपालले पार्टीको अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्नेसहितको विधान पारित गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारदेखि जारी केन्द्रीय परिषद सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्यहरु सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिएका छन् ।
नेपालका राजनीतिक दलहरुले अहिलेसम्म प्रत्यक्ष रुपले साधारण सदस्यबाट पार्टीको नेतृत्व चयन गर्ने अभ्यास गरेका छैनन् । राष्ट्रिय दलहरुको विधानमा यस्तो व्यवस्था पनि छैन । भट्टराईको यो प्रावधानले उनको पार्टीप्रति मानिसको आकर्षण बढ्न सक्ने देखिएको छ ।












