१३ असार, काठमाडौं । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन विलासी सुविधा दिन विधेयक ल्याउने भएको छ । वारम्बार विवाद र विरोध भएपछि रोकिँदै आएको यो विधेयक ल्याउने तयारी ओली नेतृत्वको सरकारले गरेको हो ।
गृह मन्त्रालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसहितका पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन मासिक वृत्ति, आवास, विलासी गाडीको सुविधा दिन विधेयक मस्यौदा गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।
अर्थबाट सहमति आएपछि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले विधेयक चालू संसद बैठकमा लाने तयारी गरेको छ ।
तत्कालीन पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र सुशील कोइरालाको पालामा सरकारले पूर्वपदाधिकारीलाई आजीवन विलासी सुविधा दिन संसदमा विधेयक दर्ता गरेको थियो ।
वर्तमान सरकारले पुन पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिन विधेयक अघि बढाएको हो ।











