१० असार, काठमाडौं । भारतीय योजनामा गठन भएको मधेसी मोर्चालाई नामेट पार्ने उद्देश्यले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय गठबन्धन बनाएपछि सद्भावनाका अध्यक्ष महतोले गठबन्धनलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै महतोले संघीय गठबन्धन विना नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारसँगको वार्तामा सहभागी हुने बताए ।
सरकारले मधेसी मोर्चालाई वार्ताका लागि आह्वान गर्दा उपेन्द्र यादवले अस्वीकार गर्दै संघीय गठबन्धनलाई पत्र लेख्नुपर्ने बताएर निहुँ खोज्दै आएका थिए । महतोको यो अभिव्यक्तिसँगै उपेन्द्र र राजेन्द्रको लामो समयपछिको मनमुटाव अब विभाजनमै गएर टुंगिने भएको हो । उपेन्द्र यादव आन्दोलन छाडेर अष्ट्रेलिया गएका बेला राजेन्द्रले उपेन्द्रलाई माइनस गर्ने गरी यस्तो निर्णय गरेका हुन् ।
गठबन्धनले वार्ताका लागि सरकारलाई दवाब दिने गरी आन्दोलन गर्न नसकेको भन्दै वार्ताका लागि मोर्चा गठबन्धनलाई कुरेर बस्ने पक्षमा नरहेको महतोले बताए । जब कि गठबन्धनले काठमाडौंको खुल्लामंचमा गरेको रिले अनशनमा महतोको दल समेत सहभागी हुँदै आएको छ ।
सद्भावनाका अध्यक्ष महतोले वार्ताबाट समस्याको समाधान खोज्न मोर्चा तयार भएको अवस्थामा सरकार गम्भिर हुनुपर्ने बताए ।
उहाँले मोर्चाले आफ्ना राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता अहिले नै नखोजेको भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद् घोषणा गरिनुपर्ने, घाइतेहरुको उपचार गरिनुपर्ने लगायतका पूर्वशर्त तत्काल पूरा गरेर वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गरे । महतोका केन्द्रीय उपाध्यक्ष नयाँ शक्तिमा प्रवेश गरेपछि उनी यतिवेला मर्माहत भएका छन् ।
महत्त्वपूर्ण कुरा त के छ भने केही समय पहिले आफ्नो दलको केन्द्रीय कार्यालय तराईमा सारेको बताएका महतोले काठमाडौंबाट नै केन्द्रीय कार्यालयको कार्य संचालन गर्दै आइरहेका छन् ।












