९ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले आन्दोलनको बलमा माग पूरा गरेर देखाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौती दिएका छन् । ।
मोर्चा माग सम्बोधनका लागि सरकारसँग वार्ता गर्न इच्छुक देखिएको अवस्थामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाएर देखाउन चुनौती दिएका हुन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले आफ्नो दलको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन तेस्रो महाधिवेशनको उद्घाटनका क्रममा मधेशका जिल्ला मोर्चामा आवद्ध दलको मात्र विर्ता नभएको बताए ।
केही दलले आन्दोलन गरेको नाममा सरकारले आन्दोलन विरोधी जनताका भावनालाई उपेक्षा नगर्ने उनले बताए । मोर्चाले राखेको समानुपातिक समावेशी प्रतिनिधित्वको माग संविधानको पहिलो संशोधनबाट पूरा भइसकेको भन्दै मोर्चाले हठ देखाएर आन्दोलन गरिरहनुको औचित्य नरहेको जिकिर गरे ।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले कसैका पनि शत प्रतिशत माग पूरा नहुने भन्दै आफ्नो पार्टी त्यसको उदाहरण भएको उल्लेख गरे । उनले संविधानको विपक्षमा मत हालेर पनि आफ्नो पार्टीले संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक सहयोग गरिरहेको भन्दै प्रमुख दलहरुलाई जनमत संग्रहमा जाने हिम्मत गर्न चुनौती दिए ।
जनमत संग्रह भएको अवस्थामा आफ्नो पार्टीले उठाउँदै आएको हिन्दु राज्यको पक्षमा ८० प्रतिशत मत आउने उनको दावी थियो ।
थापाले पार्टीका कार्यकर्तालाई गुटबन्दीमा नलाग्न निर्देशन समेत दिए । उहाँले पार्टी भजनमण्डली खडा गर्न र हरिकीर्तन गर्नका लागि गठन नभएको भन्दै फराकिलो विचार बोक्न कार्यकर्तालाई आग्रह गरे ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको महाधिवेशन दुई दिनसम्म चल्ने छ ।












