९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विहीबार व्यवस्थापिका संसद्को बैठक अवरुद्ध पारेको छ ।
प्रमुख प्रतिपक्षी काँग्रेसले भुकम्प प्रभावितहरुले घर बनाउनका लागि २ लाख रुपैयाँ अनुदान नपाएको र प्रभावितहरुको लगत संकलनका क्रममा राजनीतिकरण भएको बारेमा आफूले उठाएको आवाजको विषयमा सरकारले कुनै जवाफ नदिएको भन्दै संसद्को विहिवारको बैठक अवरुद्ध पारेको हो ।
काँग्रेस सांसद् डा. प्रकाशशरण महतले भुकम्प प्रभावितहरुले अनुदान रकम नपाएको विषयमा आवाज उठाएको नौ दिन भइसक्दा तथा सभामुखले रुलिङ गरेको तीन दिन भइसक्दा पनि सरकारले जवाफ नदिएको अवस्थामा आफुहरु संसद् चल्न दिने पक्षमा नरहेको बताए । उनले प्रभावितहरुलाई घर बनाउनका लागि अनुदान दिनुको साटो सरकार झुठा आश्वासन बाँड्नमा मात्र सीमित भएको आरोप लगाए । उनले भुकम्प गएको १४ महिना वित्दासमेत सरकारी अनुदानबाट एउटै घर नबनेको अवस्थामा प्राधिकरणको अहिलेको काम गराइबाट प्रभावितहरुले पक्की घरमा बस्न पाउने आशा गर्न नसकिने भन्दै पुनर्निमाणमा चरम लापर्वाही हुनुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने बताए ।
सरकारले काम नगरे काँग्रेस चुप लागेर नबस्ने चेतावनी उनले दिए । डा. महतले बोलिसकेपछि सभामुख ओनसरी घर्तीले बैठक अगाडि बढाउन खोजे पनि काँग्रेस सांसद्हरुले बस्न मानेनन् ।
काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सबैभन्दा ठूलो दलका नाताले भुकम्प प्रभावितहरुले पाएको पीडालाई काँग्रेसले बेवास्ता गर्न नसक्ने भन्दै पुनर्निमाणमा भएको ढिलाइबारे प्रधानमन्त्रीले बैठकमा उपस्थित भएर जानकारी नदिएसम्म संसद् चल्न नदिने बताए । काँग्रेसका सांसद्ले संसद् चल्न नदिने बताएपछि सभामुख घर्तीले बैठक शुक्रबार विहान ११ बजेसम्मका लागि स्थगित गरेकी छिन् ।












