९ असार, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व हत्याउने दाउमा संगठनभित्र कुटाकुट हुन थालेको छ । पार्टीभित्र तेस्रो धारको अस्तित्व खोजिरहेको कृष्णप्रसाद सिटौला पक्षधरले महाधिवेशन रोक्ने खेलमा लागेपछि सिटौला पक्षका ईन्दु शर्मालाई रामचन्द्र पक्षधरले कुटेका हुन् ।
वुधबार बागवजारको हार्दिक होटलमा आयोजित शिक्षासम्बन्धि कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्तव्य राखेर बाहिरिएपछि विद्यार्थीहरुबीच कुटाकुट भएको हो ।
नेविसंघका कार्यवाहक अध्यक्ष सानु महर्जनले कार्यक्रम संचालन गर्न लागिरहेको बेला महिलालाई स्थान नदिएको भन्दै केन्द्रीय सदस्य ईन्दु शर्माले निहुँ खोजे । उनले त्यति मात्रै भनेनन् यो नेविसंघको भन्दा पनि रामचन्द्र गुटको कार्यक्रम भयो भन्दै शर्माले कार्यक्रम विथोल्ने प्रयास गरे ।
कार्यक्रम विथोल्न खोजेपछि रामचन्द्र पक्षधर केन्द्रीय सदस्य ऋषिकेश जंग शाह जंगिए । ईन्दु शर्मा पछि हटेनन् । त्यसपछि नेविसंघभित्रै बाहुबली भनेर चिनिने काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्य लगायतका विद्यार्थीहरुले ईन्दु शर्मालाई भकाभक कुट्न थाले ।
सिटौला पक्षधर विद्यार्थीको समूह त्यहाँ नभएकोले ईन्दुको पक्षबाट लड्ने कोही भएन । अनि पौडेल पक्षधर खगेन्द्र कर्ण लगायतका केन्द्रीय सदस्यहरुले धेरै कुटाइ खानबाट ईन्दुलाई जोगाए । घाइते ईन्दुलाई त्यसपछि अस्पताल पुर्याइयो ।
नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलेको दुई प्यानलबीच मुख्य प्रतिश्पर्धा हुने भए पनि पार्टी महाधिवशेनदेखि तेस्रो प्यानल बनाएका कृष्ण सिटौलाले नेविसंघमा पनि आफ्नो प्यानल बनाउने कोसिस गरिहेका छन् । सिटौला पक्षधर विद्यार्थीको संख्या अत्यन्त कम भएकोले निर्वाचनमा जित्ने लक्षण छैन । फलस्वरुप महाधिवेशन स्थगित गर्ने तयारीमा सिटौला पक्षधर लागेका छन् । सिटौला पक्षधर विद्यार्थीहरुले महाधिवेशन स्थगित भएको भ्रामक प्रचार समेत गरिरहेका छन् । महाधिवेश स्थगित गर्न भन्दै उनीहरुले देउवा र पौडेललाई दवाव दिइरहेका छन् । एक टेलिभिजनमा कार्यरत सिटौला पक्षधर पत्रकारले अन्य पत्रकारलाई फोन गरेर नेविसंघको महाधिवेशन स्थगित भएको भ्रामक समाचार दिएका थिए ।
सिटौला पक्षधर विद्यार्थीहरुले महाधिवेशनमा अवरोध गर्न खोज्नुको कारण के हो त ?
यस विषयमा पौडेल पक्षधर केन्द्रीय सदस्य खगेन्द्र कर्ण भन्छन्- ‘यो वार्गेनिङका लागि गरिएको स्पष्ट छ । अवरोध सिर्जना गर्ने र सहमतिमा एक दुई सिटमा आफ्ना मान्छेको उम्मेदवारी निश्चित पार्ने दाऊ सिटौला पक्षधरको छ ।’










