६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जनयुद्धसहितको विद्रोह हुने चेतावनी दिएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई निस्तेज पार्ने प्रतिध्रुवको प्रयास भइरहेको भन्दै त्यो प्रयास भयानक षडयन्त्रको रूपमा अगाडि बढे सिङ्गो समाजमा जनयुद्ध, विद्रोह र क्रान्तिको भावना बढेर जाने चेतावनी दिएका हुन ।
माओवादी कमजोर हुनु र फुट्नुमा आफूलाई मात्र दोष दिनु अन्याय भएको समेत उनले बताए । पार्टी नेता लेखनाथ न्यौपानको पुस्तक ‘कोमामा कोरस’को सोमबार राजधानीमा विमोचन गर्दै नेतृत्वको मात्र कमजोरी भएको भनेर मूल्यांकन गरिनु आफूमाथि ठूलो अन्याय हुने दावी गरे ।
प्रचण्डले माओवादीलाई ठूलो दलदलमा फस्नबाट आफूले जोगाएको भन्दै योगदानलाई पुरै बेवास्ता गरेर कमजोरी मात्र औंल्याउनु आफूमाथि ठूलो अन्याय हुने कुरा दोहोर्याए । प्रचण्डले परिवर्तनका लागि आफूले सामाजिक अभियान्ताका रुपमा ठूलो योगदान गरेको भन्दै ढिलो चाँडो त्यसको सही मूल्यांकन हुनेमा आफू आशावादी रहेको धारणा व्यक्त गरे ।
लेखक न्यौपानेको पुस्तकमा माओवादी आन्दोलन कमजोर हुनुका कारणबारे सविस्तार वयान गरिएको छ ।












