६ असार, नवलपरासी । भारतीय योजनामा चलिरहेको आरोप लाग्दै आएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दायाँतर्फ भाजपा नेता भगतसिंह कोशियारीलाई र वायाँतर्फ कांग्रेस सभापति देउवालाई राखेर आफ्नो पार्टीको पहिलो महाधिवेशन सुरु गरेका छन् । सोमबार नवलपरासीको सदरमुकाम परासी बजारमा सुरु भएको तमलोपाको प्रथम महाधिवेशनमा यस्तो अवस्था देखिएको हो । नेपालमा भाजपाको प्रभावका लागि कोशियारी निरन्तर लागिरेका व्यक्ति हुन् भने भारतीय योजनामै देउवा प्रधानमन्त्री बन्ने कसरतमा लागिरहेको विश्लेषण हुँदै आएको छ ।
पार्टीको उद्घाटन सत्रमा मधेस भूमी स्वायत्त नभएसम्म तराईको आन्दोलन चलिरहने पार्टी अध्यक्ष ठाकुरले चेतावनी दिए ।
नेपाल एक समुदायको मात्र राष्ट्र हुन नसक्ने भन्दै ठाकुरले राज्यका हरेक निकायमा जनसंख्याका आधरमा मधेसीलाई समानुपातिक प्रतिनिधित्व हुनु पर्ने बताए ।
महाधिवेशनमा कांग्रेस सभापति शेरवहादुर देउवाले मधेशका भेदभाव हटाउन आफ्नो पार्टी सदैव लागि पर्नेे बताए थिए ।
उद्घाटन कार्यक्रममा राप्रपा नेता पशुपति समशेर जवरा, भाजपाका अध्यक्ष भागवत सिंह कोशियारी, भारत उत्तर प्रदेश विधान सभाका सभामुख मायासाद पाण्डे, संघीय समाजवादीका नेता लालबाबु राउतलगायतका विभिन्न दलका नेताहरुको उपस्थिति रहेको थियो ।
पहिचान, स्वाभिमान र सम्मान भन्ने उद्गारका साथ सुरु भएको तमलोपाको महाधिवेशन असार ६, ७ र ८ गते सम्म चल्ने छ । महाधिवेशनमा २७ जिल्लाका १२ सय प्रतिनिधि सहभागी छन् ।













