६ असार, काठमाडौं । इन्टरनेट प्रयोग गर्नुभन्दा पहिले नै महसुल तिरेर पनि राम्रो सेवा नपाएका सर्वसाधारणलाई अब भने खुशीको खबर छ । किनभने नेपाल टेलिकमको एडिएसएलबाट अब द्रूत गतिको इन्टरनेट पाइने भएको छ । देशभरका ल्याण्डलाइन फोनलाई आइपी प्रविधिमा रुपान्तरण गरेर टेलिकमले द्रूत गतिको इन्टरनेट दिने भएको हो । अहिले एडिएसएलको नेट समेत अति सुस्त भएर जनताले सास्ती पाइरहेका छन्।
आगामी ३ वर्ष भित्रमा देशभर रहेका ६ लाख ४५ हजार ल्याण्डलाइन फोनलाई उच्चस्तरिय आइपी प्रविधिमा रुपान्तरण गर्ने जानकारी टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आर्चायले दिएका छन् ।
अहिले अमेरिका र युरोपमा रहेका ल्याण्डलाइन टेलिफोन आइपी प्रविधिमा नै आधारित छन्। ल्याण्डलाइन फोनलाई आइपीमा बदल्न उपत्यकाबाट नै काम सुरु हुने आर्चायले बताए। भ्वाइस सेवाको अलावा इन्टरनेट सेवा पनि अब राम्रो पाउने दावी आचार्यले गरे ।
अहिले इन्टरनेट चुहावट भएर पनि सुस्त भएको टेलिकमको आशंका छ। आइपी प्रविधि जडान भएपछि २ किलोमिटर दुरीमा एक्सचेन्ज सेन्टर रहने र त्यसबाट इन्टरनेट बाँड्दा चुहावट नहुने अनुमान टेलिकमले गरेको छ ।













