६ असार, काठमाडौं । आफैंले जारी गरेको संविधानका विरुद्धमा अभिव्यक्ति दिंदै हिंडेका पूर्वराष्ट्रपति डा. रामवरण यादवले अब मुद्दा खेप्नुपर्ने भएको छ । संविधान जारी गर्ने समयमा अनेक अड्चन सिर्जना गर्दै पुनर्विचार गर्न पत्राचार समेत गरेका यादव पदमुक्त भएपछि आफूलाई संविधान जारी गर्न त्यतिवेला ईच्छा नभएको गैरजिम्मेवार अभिव्यक्ति दिन थालेका छन् ।
यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने यादवलाई सरकारले पनि गैरजिम्मेवार व्यवहार गरेको छ । फलस्वरुप पूर्वराष्ट्रपति यादवसहित सरकारमाथि मुद्दा दायर भएको छ ।
आफ्नै घर हुँदाहुँदै पनि लालच गरेर सरकारी सुविधामा रमाएका पूर्वराष्ट्रपति डा.रामवरण यादव बहालमा बसेको घर खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सरकारले घर बहाल बापतको मासिक एक लाख ३० हजार रुपैयाँका दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायर गरेका हुन् ।
उनले घर खाली गर्न नमानेका कारण आफू डेरामा बस्नुपरेको पीडा पनि फिरादमा पोखेका छन् । ‘वहाल भराइ घर खाली गराइ पाउँ’ मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन सितलनिवास, सरकार र पूर्वराष्ट्रपति यादबलाईलाई प्रतिवादी बनाइएको छ ।
विष्टले घर वहाल बापतको रकम उपलब्ध गराइदिन पटकपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिए पनि सुनुवाई नभएपछि अदालत गुहारेका हुन् ।
सरकारले डा यादबका लागि भनेर ललितपुर उपमहानगरपालिका, ४ नख्खु खरिबोटमा रहेको विष्टको घर भाडामा लिएको थियो । २०७२ साल कात्तिक १२ गते देखि निवासका लागि बहालमा लिने निर्णय भएको थियो । त्यसयताको सबै बहाल वक्यौता रहेको दाबी फिरादपत्रमा छ ।
घर बहाल, विजुली पानीकोसमेत दश लाख २४ हजार आठ सय दश रुपैयाँ असुल्न बाँकी रहेको पनि घरधनी विष्टले जनाएका छन् ।
उक्त फिरादपत्रलाई शुरुमा ललितपुर जिल्ला अदालतका स्रेस्तेदार बाबुराम दाहालले दरपिठ आदेशमार्फ दर्ता गर्न इन्कार गरेका थिए ।
दरपिठविरुद्ध दिएको अर्को निवेदनमा जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले विष्टले पेश गरेका निवेदन, जग्गा दर्ता श्रेस्ताको प्रमाणित प्रतिलिपि एवम् कागजातका आधारमा मुद्दाको फिरादपत्र न्यायिक विवेचना र कानुनी प्रश्नको व्याख्या एवं मूल्याङकन गरी इन्साफ गर्नुपर्ने अवस्था रहेको भन्दै स्रेस्तेदारको दरपिठ आदेशलाई शुक्रबार खारेज हुने निर्णय दिएको थियो ।
‘दरपिठको निर्णय बदर गर्ने इजलासको आदेशपछि घरधनी विष्टले आइतबार मुद्दा दायर गरेका हुन् ।












