५ असार, काठमाडौं । एकीकृत माओवादीभित्रका भ्रष्ट्राचारी मन्त्रीका रुपमा चिनिएका उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भ्रष्ट्राचार गर्नकै लागि नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक राजीव शर्मालाई योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयबाट हटाएर इञ्जिनियरिङमा सरुवा गरेका छन्।
सेतो हात्तीका रुपमा लिइने डिजेल प्लान्ट स्थापना तथा चार जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) अघि बढाउन अवरोध गरेको अभियोगमा मन्त्रीले उनलाई इञ्जिनियरिङ निर्देशनालयमा सरुवा गरेका हुन्।
अधिकांश मन्त्री, कार्यकारी निर्देशकको ध्यान जाने र आर्थिक बार्गेनिङका लागि मुख्य मानिएको पीपीए गर्ने, योजना बनाउने तचथा अनुगमन गर्ने भूमिका रहेको प्राधिकरणको सो निर्देशनालय आकर्षक मानिन्छ। ‘शर्मालाई हटाउनुपर्ने अरू कारण केही छैन, केही जलविद्युत आयोजनाको पीपीए र म्याद थप्नका लागि चर्को दबाब भए पनि उनले अस्वीकार गरेकाले मात्र त्यो निर्देशनालयबाट हटाएर अर्कोमा सरुवा गरिएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘मन्त्रीको दबाब नमान्नेहरूलाई सधैं यस्तै हुने गरेको छ।’
पछिल्लो समयमा ऊर्जा मन्त्रालयले तिला–१ र तिला–२ जलविद्युत आयोजनाको पीपीएको प्रक्रियाबारे असहमति जनाएपछि उनलाई हटाउन चर्को दबाब परेको थियो।
मन्त्री रायमाझी भौतिक योजनामन्त्री बनेका समय ठेकेदारबाट चर्को रकम असुल्ने भन्दै आलोचित भएको थिए । युद्धकालमा निजी सम्पत्ति नभएका रायमाझी अहिले करोडभन्दा बढी रकमको घर खरिद गरेर खुमलटारमा बन्दछन् ।












