४ असार, सिड्नी । संविधान पुनर्लेखन गर्नुपर्ने अड्चन फ्याँकेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अष्ट्रेलिया पुगेका छन् । सरकारले वार्ताका लागि आह्वान गरेको पत्रलाई पनि विभिन्न आरोपहरु लगाउँदै सबैभन्दा बढी वार्ता विरोधी देखिएका यादव अष्टे«लिया किन पुगे भन्ने कुरा चाहिँ रहस्यमय देखिएको छ । आफ्नै दलका नेता तथा सांसदलाई समेत आन्दोलन छाडेर विदेश जान हुन्न भन्ने गरेका यादव आफैं वार्ताको टेबुल छाडेर अष्ट्रेलिया पुगेका हुन् ।
अष्ट्रेलिया पुगेका यादवलाई नेपालीहरुले अवहेलना गरेको तस्वीर सार्वजनिक भएको छ । न्यु साउथ वेल्स राज्यका लागि नेपाली महावाणिज्य दूतसहितको स्वागत टोलीले यादवको स्वागतमा अपमानजनक व्यवहार देखाएको छ । सिड्नी विमानस्थलमा स्वागत गर्ने वित्तिकै भएको स्वागत बैठकमा उपेन्द्र यादवलाई बेवास्ता गर्दै महावाणिज्य दूत दीपक खड्कालगायतका सबै स्वागतार्थीहरु आआफ्ना मोबाइलमा रमाइरहे भने यादव ट्वाल्ल परेर हेरिरहे । पूर्वउपप्रधानमन्त्री यादवले राज्यको दायित्व विर्सेर देशवासीलाई नाकाबन्दी नै लगाएर आन्दोलन गरे पनि अष्ट्रेलियामा बस्ने नेपालीले उनीप्रति यस्तो व्यवहार गर्नु निन्दनीय छ ।
बारम्बार उपप्रधानमन्त्री बनेर विदेश शयरमा रमाएका यादवलाई विदेश जान मन लागेर मात्रै पक्कै पनि अष्ट्रेलिया गएका होइनन् । अष्ट्रेलियाका जनजाति सम्बन्धि संघसंस्थाले गर्ने कार्यक्रमलाई सम्बोधन गर्न यादव गएको बताइए पनि अन्तर्राष्ट्रिय राजनीतिक शक्तिसँगको सम्बन्ध विस्तारको कुरा पनि यादवको भ्रमणसँग जोडिएको छ ।
महत्त्वपूर्ण कुरा त के छ भने चीनसँग निकट मानिने दुई नेताको अष्ट्रेलिया भ्रमण एउटै समयमा मिलाइएको छ । चीनसँग निकट सम्बन्ध रहेका प्रचण्ड अष्ट्रेलिया जानुपहिले नै चीनका अर्का निकट व्यक्ति यादव त्यहाँ पुगेका हुन् । यी दुई नेताको अष्ट्रेलिया भ्रमणको भित्री कुरा खुल्न अझै बाँकी छ ।












