४ असार, काठमाडौं । नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाउने निर्देशिका ल्याएकोले प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले आपत्ति जनाएको छ ।
नेपाल सरकारले हालै ल्याएको अनलाइनलाई नियन्त्रण गर्ने निर्देशिका तत्काल फिर्ता लिन समेत आइएफजेले माग गरेको छ । सरकारद्वारा तिनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना विभागले जुनसुकै बेला बन्द गर्ने सम्मको प्रावधान राखिएको छ ।
‘सरकारले आफूअनुकुल समाचार अनलाइन बन्द गर्नसक्ने भन्ने प्रावधान प्रेस स्वतन्त्रता र अनलाइनको स्वतन्त्रसँग सम्बन्धितस्थापित मान्यता विपरीत छ’ आइएफजेले भनेको छ । आइएफजेले अनलाइन सरोकारवालाहरुसँग छलफल गर्न समेत सरकारलाई भनेको छ ।











