२ असार, काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अप्ठेरो पारेपछि कसरी प्रतिरोध गर्ने भन्ने विषयमा एमाले सांसदले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशकसँग प्रशिक्षण लिएका छन् । पुनर्निर्माणका क्षेत्रमा सरकारले राजनीतिकरण गरेको र काममा भन्दा प्रचारमा रमाएको भन्दै कांग्रेसले तीव्र आलोचना गरेपछि कसरी प्रतिकार गर्ने भन्ने विषयमा एमालेले नै नियुक्त गरेका प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रशिक्षण दिने व्यवस्था मिलाइएको हो । एमाले संसदीय दलका अध्यक्ष केपी ओलीले ज्ञवालीमार्फत विहीबार आफ्नो दलका सांसदलाई प्रशिक्षण दिन लगाए ।
ज्ञवालीसँग प्रशिक्षण लिएर निस्किएका एमाले सांसदहरुले प्रतिपक्षीले आरोप लगाएजस्तो प्राधिकरणले कामै नगरेको भन्ने कुरामा सत्यता नरहेको प्रतिक्रिया संचारकर्मीलाई दिए । प्राधिकरणले पुनर्निर्माणमा धेरै काम गरेको दावी एमाले सांसद गङ्गालाल तुलाधरले गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले प्रशिक्षणका क्रममा प्रस्तुत गरेको प्रगतिमा हालसम्म १ लाख ६ हजार ५४० भूकम्पपीडित घरधनीलाई दुई लाख वितरण गर्न अनुदान सम्झौता गरेको उल्लेख छ ।












