१ असार, काठमाडौं । दोस्रो ठूलो सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकार तत्काल नढाल्ने बताउन थाले पनि ओली सरकार ढल्न लागेका केही महत्त्वपूर्ण लक्षणहरु एकपछि अर्को गरेर देखिन थालेका छन् । यी प्रमुख कारण हुन् सत्ताका लागि मरिमेट्ने ओली सरकारमा सहभागी उपप्रधानमन्त्रीहरुको छटपटी ।
सत्तामा पुग्नका लागि जस्तोसुकै अन्तरघात गर्न पछि नपर्ने भएको मुसा को उपमा पाएका कमल थापा भारत पुगेर अर्को सरकारमा आफ्नो स्थान सुरक्षित राखिदिन आग्रह गरेर फर्केका छन् । शेरबहादुर देउवा र प्रचण्डको नेतृत्वमा सरकार गठन हुन नसकेपछि आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सारिदिन भारतीय सत्तारुढ दलका दोस्रो दर्जाका नेता थापाले आग्रह गरेको बुझिएको छ । थापा प्रधानमन्त्री हुने सम्भावना नभए पनि अर्को सरकारमा पनि आफ्नो स्थान सुरक्षित राखिदिन उनले दौडधूप गरिरहेका छन् ।
ओली सरकार ढल्न लागेको दोस्रो प्रमुख कारण हो भ्रष्ट्र नेताका रुपमा परिचित विजय गच्छदारले सरकार छाड्ने धम्की । सरकार ढल्ने लक्षण देखिएपछि आफैं सहभागी सरकारलाई विगतमा पनि उनले यस्तै धम्की दिने गरेका थिए । सरकार ढल्ने सम्भावना देखेपछि नयाँ सरकारमा आफ्नो स्थान सुरक्षित राख्न गच्छदारले यस्तो गर्दै आएका छन् र एकपछि अर्को सरकारमा लगातार सहभागी हुँदै पनि आएका छन् । सरकारमै सामेल भएपछि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र मार्फत मधेसका माग राखेर मधेसमा आफ्नो भोट बचाउने खेल खेलेका गच्छदार नयाँ सरकारमा स्थान सुरक्षित राख्ने दाऊमा लागि रहेका छन् । यी त भए सत्ताका लागि नाम चलेका दुई उपप्रधानमन्त्रीका नयाँ गतिविधि ।
तर, स्वार्थरहित नेताका रुपमा चिनिएका चित्रबहादुर केसीले समेत उपप्रधानमन्त्री भएपछि सत्ता छाड्न नचाहेको देखिन्छ । सरकारमा रहँदारहँदै उनको दल जनमोर्चाले अब सडक संघर्षसहितको आन्दोलन गर्ने घोषणा वुधबार गरेको छ । संघीयतासहितको संविधान कार्यान्वयन गर्ने सपथ खाएर उपप्रधानमन्त्री बनेका केसीले अब आएर संघीयता खारेजीका लागि सडक संघर्ष गर्ने घोषणा गरेका हुन् । केसीको दलको यो घोषणाले ओली सरकार ढल्ने कुरालाई बलियोसँग पुष्टि गर्छ । किनभने संविधान बनेपछि संघीयताको विरोधमा सडक संघर्ष गर्न आवश्यक नठानेका केसीले सरकार ढल्ने भएपछि मात्रै आवश्यक ठानेका हुन् ।
उनले दुई स्वार्थका लागि यस्तो घोषणा गरेको बुझ्न सकिन्छ । सरकार ढल्ने निश्चित भैसकेपछि सरकार छाड्नुभन्दा पहिले आफ्नो एजेण्डा उठाउँदा आफ्नो राजनीतिक अडान कायम रहेको सन्देश जाने पहिलो स्वार्थ केसीको छ । त्यस्तै दोस्रो स्वार्थ उनको पनि विजय गच्छदार र कमल थापाकै जस्तो देखिन्छ । सत्ताको सुखभोग गरिसकेको केसीले पनि गच्छदार र थापाकै शैलीमा नयाँ सरकारमा आफ्नो स्थान बनाउन चाहेका हुन सक्छन् । नेपाल र नेपालीका संघीयता लागि विषवृक्ष भएको र यसले देश र जनतालाई हानि मात्र पुर्याएको ठहर गर्दै चित्रबहादुर केसीको जनमोर्चाले दुई महिने आन्दोलन घोषणा गरेको छ ।
कम्तीमा चित्रबहादुर केसी जस्ता त्यागी नेताले सत्तामै बसेर यस्तो दोहोरो चरित्र देखाउनु उदेकलाग्दो छ । केसीको यो शैलीले सत्ता स्वार्थमा डुबेका कम्युनिस्टकै शैलीमा केसी पुगेको र ओली सरकार ढल्ने भएपछि अत्तालिएको बुझ्न कुनै कठिन छैन । नेपाली राजनीतिमा भित्रभित्रै के पाकिरहेको छ भन्ने कुरा बाहिर नआउने गरेका पहिलेदेखिकै नजिरहरु छन् । तर, कतिपय भित्री मान्छेहरुलाई यसको अभास हुनु स्वभाविक हो र त्यो आभास सरकारका महत्त्वपूर्ण घटकलाई नुहने कुरै भएन । ओली सरकार बजेट पारित गरेपछि नरहने देखेर नै सत्तारुढ घटकहरुका यस्ता प्रतिक्रियाहरु बाहिर आएको स्पष्ट हुन्छ ।













