१ असार, काठमाडौं । सरकारकै एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै विहीबारबाट आन्दोलनमा उत्रने भएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीयसहितको संविधान कार्यान्वयन गर्न अहिले उपप्रधानमन्त्री पदमा बहाल छन् ।
जनमोर्चाले बुधबार काठमााडौंमा पत्रकार सम्मेलन गरेर गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागू गर्न संघीयता नै बाधक भएकाले यसको खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने उल्लेख गर्दै तत्काल खारेजीको माग गर्नुभयो । शर्माले संघीयताकै कारण मुलुकमा यतिवेला जातीय राज्य र एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीको लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए ।
संघीयता नेपाल र नेपालीका लागि विषवृक्ष भएको र यसले देश र जनतालाई हानि पुर्याएको ठहर जनमोर्चाले गरेको छ ।
पार्टीले देश गम्भीर संकटमा घडिमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो । शर्माले राष्ट्रियताको रक्षा, राष्ट्रघाती अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महङ्गी, भष्ट्रचार विरुद्ध यही असार २ गतेदेखि १९ गतेसम्म गाँउ र जिल्लास्तरिय कोणसभा गर्ने जानकारी दिए ।












