३२ जेठ, काठमाडौं । नेपाली शेयर बजारले मंगलबार अहिलेसम्मकै सबैभन्दा ठूलो कारोबारको रेकर्ड कायम भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार २ अर्ब १९ करोड ७८ लाख रुपैयाँ भन्दा बढी मूल्यको शेयर कारोबार भएको हो । २ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको इतिहासमा पहिलोपटक हो ।
मंगलबार ३७ लाख ५१ हजार ६ सय ३५ कित्ता शेयर किनबेच भएका छन् । शेयर कारोबारको रकम नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उचालेको हो । उक्त इन्स्योरेन्सको ४९ करोड ४ हजार रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको छ ।
यस्तै, नेपाल बंगलादेश बैंकको १४ करोड २८ लाख तथा रुरल माइक्रोफाइनान्स डेभेलप्मेन्ट सेन्टरको १३ करोड १४ लाख रुपैयाँ बराबरको शेयरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकमले रेकर्ड कायम गरेको दिन नेप्से परिसूचकले पनि रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक मंगलबार ४ दशमलव ५६ अंकले बढेर १६ सय १४ दशमलव १५ अंकमा पुगेको छ । बैंकिङ समूहको परिसूचक ६ दशमलव २२ अंकले घटेकामा वीमा, जलविद्युत, होटल र विकास बैंक समूहले परिसूचक बढाएका हुन् ।












