३२ जेठ, काठमाडौं । अत्यावश्यक खाद्य सामग्रीमा अखाद्य सामग्री मिसावटको अवस्था डरलाग्दो देखिएको छ । दूध, जुस तथा अन्न लगायतका सामग्रीमा नै मिसावट डरलाग्दो देखिएपछि उपभोक्ताहरु सचेत हुनुपर्ने देखिएको छ ।
अखाद्य कुरा मिसावट गरेर विक्री गर्ने उद्योगी र व्यवसायीहरुको संख्याले यो प्रष्ट पारेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ।
विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।
बजार अनुगमनका क्रममा घ्यु, तेल, मसला, चाउचाउ, केही अन्न, पानी, दूधलगायतका उद्योगलाई मुद्दा लगाइएको हो। नमुना हेरी प्रयोगशालामा जाँच गर्दा ती उत्पादनमा कमी कमजोरी पाइएको प्रवक्ता वस्तीले बताए।
बजार अनुमनमा दुई हजार ३० नमुना सङ्कलन गर्ने लक्ष्य राखिएकोमा एक हजार ८१४ नमुना सङ्कलन गरिएको छ।
यसैबीच, विभागलाई चालु आवमा करिब रु २२ करोड बजेट विनियोजन गरिएकोमा आगामी आवमा रु नौ करोड बजेट थप गरिएको छ।