३२ जेठ, चितवन । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नदिनका लागि सोही दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने यही सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन् । चितवन पुगेका नेता पौडेलले कांग्रेसलाई सत्ताको चिन्ता नभएको र सत्ता प्राप्तिमा लाग्न नहुने अभिव्यक्ति दिएका छन् ।
उनले सरकारमा जानुभन्दा संविधानको कार्यान्वयनको सवाल काँग्रेसको पहिलो चिन्ताको विषय भएको उनले बताए । प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले लामो समयदेखि स्थिर सरकार हुन नसकेकाले ओली सरकारलाई नै ढाल्ने खेलमा लाग्न नहुने बताए । कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ कांग्रेस लाग्ने उनको भनाइ थियो ।
संविधान कार्यान्वयन गर्न सरकारमा जानुपर्छ भन्ने देउवाको तयारीको आलोचना गर्दै पौडेलले भने “कानुन संसद्ले बनाउने हो, कांग्रेस संसदमा छ, त्यहीँ बसेर कानुन निर्माण गर्दै संविधान कार्यान्वयनमा लाग्छौँ।”
कांग्रेसले हटाउँछु भन्दैमा ओली सरकार नहट्ने भएकोले यसतिर कांग्रेसले समय र शक्ति खेर फाल्न नहुने उनले बताए ।
नेता पौडेलले कांग्रेस स्थानीय निर्वाचन गर्ने पक्षमा रहेको बताउँदै अब गाउँ विकास समितिको नभै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरे ।
मधेसकेन्दित दललाई सहमतिमा नल्याई स्थानीय निर्वाचन गर्न कठिन हुने भएकोले उनीहरुसँग गम्भीररुपमा वार्ता गरेर समस्या समाधान गर्नुपर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।
नेता पौडेलले कांग्रेसका भ्रातृ सङ्गठनकोे निर्वाचन भदौ–असोजसम्ममा सम्पन्न हुनुपर्ने भन्दै पौडेलले त्यतातर्फ बढी ध्यान दिने जानकारी दिए ।












