३२ जेठ, काठमाडौं । वुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्दै विद्यार्थीलाई पढ्न नदिएर जनयुद्धमा लगाएका डा. बाबुराम भट्टराईको दलमा अब शिक्षित व्यक्ति मात्र सांसद हुन पाउने भएका छन् । सर्वाहारा र गरिब जनताका लागि भन्दै जनयुद्धमा लागेका भट्टराईले नयाँ शक्ति नेपाल नामको नयाँ दल खोलेपछि शिक्षित र धनी वर्गको दल बनाउन लागेका हुन् । जनयुद्धकालमा पनि उनकी छोरी मानुषी यमी भट्टराईले अध्ययन गरिरहेकी थिइन् भने अहिले भारतको छात्रवृत्तिमा जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधि गर्दैछिन् ।
प्रज्ञा भवनमा जारी पार्टीको बन्द सत्रमा भट्टराईले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेका छन्। प्रत्यक्ष रुपले जनयुद्धमा लागेर अध्ययन गर्न नपाएका व्यक्तिहरु समेत भट्राईको दलमा छन् । तिनीहरुले प्रत्यक्ष रुपमा निर्वाचित भएर सांसद बन्ने अवसर नपाउनु विडम्बनायुक्त देखिएको छ । उनको राजनीतिक प्रतिवेदन ‘नयाँ शक्तिको आधारतत्व’, नेता देवेन्द्र पौडेलको संगठन विधान प्रतिवेदन र रामेश्वर खनालको आर्थिक विकास र समृद्धिको प्रारुप पेश गरेका छन् ।
समानुपातितर्फ भने शैक्षिक योग्यतासम्बन्धी प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको हो। भट्टराईले वाम लोकतान्त्रिक धारको पार्टी निर्माण गर्न प्रस्ताव गरे पनि कतिपय सहभागीले भने वाम भनिरहनु नपर्ने, लोकतान्त्रिक भने पुग्ने जिकिर गरे। आफूलाई वामपन्थी भन्ने पार्टीहरु राजनीतिक कार्यक्रममा वाम दिशा तय गर्न चुकेको भन्दै ती सहभागीले नयाँ शक्ति वैकल्पिक लोकतान्त्रिक शक्ति बन्नु पर्ने टिप्पणी गरे। नयाँ शक्तिले पार्टीका सबै तहका नेता अनिवार्य चुनिएर आउनुपर्ने व्यवस्था गरेको छ।
नयाँ शक्तिको आधारतत्त्वमा धनी, शिक्षित, गैरवाम र सेलिब्रिटीहरु रहने कुरा बन्द सत्रमा भएका बहसहरुले संकेत गरेको छ ।












