३० जेठ, काठमाडौं । नेपाल र चीनबीच भएको सहमतिअनुसार यही असार १ गतेदेखि उत्तरतर्फको कोरला नाका २५ दिनका लागि खुल्ने भएको छ । नाकामा असार १ गतेदेखि हने व्यापार मेलाको अवसर पारेर यो नाका खुल्ला हुँदैछ । मेलामा नेपाल र चीन दुवैतर्फका व्यापारीहरु आउनेछन् ।
चीनले नेपालसँग यो नाकाबाट दीर्घकालीन व्यापार गर्न मेलालाई प्रयोगात्मकरुपमा लिएको छ । चीनतर्फको ढुंवासेन बजार पुगेर यहाँ व्यापार गर्न आउने नेपाली नागरिकले भिषा लिनुपर्ने छैन ।
नाका खुल्ने भएपछि नेपाली सुरक्षा अधिकारीहरु सीमातर्फ जान थालेका छन् । सिमानामा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ गणेश अधिकारीले जानकारी दिए । चीनले आफ्नो ढुंवासेन बजार भन्दा उता नेपालीलाई जान निषेध गरेको छ ।
हिउँ नपर्ने मौसम भएकाले अहिले नाका खुलाउन लागिएको हो । नेपालीले सामान किन्नका लागि कोरला मूल गेटको सिमानाबाट २ किमी चीनतर्फको स्थानमा जानुपर्नेछ ।
चीनतर्फका ब्यापारीले नेपालीलाई किनमेलका लागि पायक हुने गरी सिमानानजिकै सामान ल्याएर राखेका छन् ।
कोरला नाका खुलेपछि भारतसँग नेपालको निर्भरता कम हुने छ ।
चीनविरुद्ध गतिविधि बढेको भन्दै १० वष अघि चीनले यो सीमा क्षेत्रमा तारबार गरेको थियो । त्यसको ३ वर्षपछि व्यापारको प्रक्रियालाई नरोक्ने दुबै देशको सहमति बमोजिम वर्षमा दुई पटक ब्यापारिक मेला लगाउने निर्णय गरिएको थियो । यसअघि यस्तो मेला एक साता मात्रै लाग्थ्यो ।
नाकाबाट २ किमी पर चीनतर्फ लाग्ने व्यापारिक मेलालाई लक्षित गरेर असार १ गतेदेखि २५ दिनसम्म कोरला नाका खुला हुनेछ ।












