३० जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल आउने भएका छन्। विश्वका उदाउँदो शक्ति राष्ट्रहरुको संगठन ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) को सम्मेलनमा भाग लिएर फर्किने क्रममा चिनियाँ राष्ट्रपति सीले असोज ३० गते नेपाल भ्रमण गर्ने भएका हुन् ।
भारतको गोवास्थित पाणजीमा असोज २८ र २९ गते ब्रिक्सको सम्मेलन हुँदैछ। त्यहाँबाट फर्किने क्रममा नेपाल भ्रमण गर्ने सम्भावना रहेको नेपालस्थित परराष्ट्र मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै चिनियाँ पत्रिका मर्निङ हेराल्डले जनाएको छ।
नेपालको तर्फबाट चीनसँगको सम्बन्धमा विस्तारमा ऐतिहासिक काम भएको भन्दै यसलाई अझै नयाँ उचाइमा पुर्याउन चिनले चाहेको. बताइएको छ । नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता राखेको छ भने चीनले पनि नेपाल भएर दक्षिणमा सम्बन्ध विस्तार गर्न चाहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनसँग पारवहनसहितका सम्झौता भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणक्रममा चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
राष्ट्रपति सीले दक्षिणी छिमेकी देश नेपालको भ्रमण गरे शीर्ष चिनियाँ नेतृत्वबाट दुई दशकपछिको भ्रमण हुनेछ। यसअघि सन् १९९६ मा जियान जमिनले नेपाल भ्रमण गरेका थिए।
नेपाल भ्रमणमा आएको चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख सुन जिआन्गोको नेपाल भ्रमणका एजेन्डामा चिनियाँ राष्ट्रपति सीको भ्रमणको विषय पनि रहेको स्रोतले जनाएको छ। मन्त्री भीम रावल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग भेट गरेका एडमिरल सुनले रावललाई चीन भ्रमणको निम्तो दिएका छन्। रावलको आसन्न चीन भ्रमण पनि राष्ट्रपति सीको भ्रमण तयारीको विषयमा केन्द्रित हुने जनाइएको छ।
ुविश्वका उदाउँदो शक्ति राष्ट्रका प्रमुखका भ्रमण भएकाले दुवै देशका उच्च अधिकारीको यसबीच धेरै भ्रमण हुने भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पनि हाल चीन भ्रमणमा छन्। उनको भ्रमणक्रममा चीनको शीर्ष नेतृत्वसँग हुने भेटघाटमा पनि राष्ट्रपति सीको भ्रमणबारे छलफल हुने भएको छ।
चिनियाँ पक्ष भने तत्काल मिति घोषणा गर्ने पक्षमा देखिएको छैन। राजनीतिक र सुरक्षाको कारण मिति घोषणा गर्न नचाहेको जनाइृएको छ ।












