३० जेठ, काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढल्ने र नयाँ सरकार बन्ने देखेपछि फोरम लोकतान्त्रिकले यो सरकार छाडेर नयाँ बन्ने सरकारमा सहभागी हुने कसरत गरेको छ । ओली नेतृत्वको सरकार सबै असफल भएको भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले अन्य दलसँग सरकार बनाउने कसरतमा लागेका हुन् । बजेट पारित भएपछि सरकारको नेतृत्व फेरिने कुरा सत्तारुढ घटक एमाले र माओवादी केन्द्र बीच नै भैसकेको छ । सत्ताका लागि मरिमेट्ने गच्छदारको यस्तो अभिव्यक्तिले ओली सरकार ढल्न लागेको थप स्पष्ट भएको छ ।
ओली नेतृत्वको सरकारमा सहभागी हुनुअघि भएको समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले चासो नदिएको फोरम लोकतान्त्रिकको गुनासो छ। आठबुँदे मागलाई धोती लगाउने काम प्रधानमन्त्रीले गरेको भन्दै उपप्रधानमन्त्री समेत रहेका फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले आरोप लगाएका छन् ।
त्यस्तै, फोरम लोकतान्त्रिकले ओली नेतृत्व सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको ठहर गरेको छ। सरकार गठन भएको आठ महिना बित्दा पनि भूकम्पप्रभावितलाई राहत, पुनर्वास तथा पुनर्निर्माण, कालाबजारी र महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ ।
मुलुकको समस्या समाधान गर्नका लागि वर्तमान सरकारको विकल्प खोज्नुपर्ने ठहर गर्दै पार्टीभित्र छलफल सुरु भएको गच्छदारले बताए ।
पार्टी केन्द्रीय समितिको आगामी बैठकले सरकारबाट बाहिरिने निर्णय लिने कुरा सार्वजनिक गर्दै गच्छदारले अझै पनि ओलीसँग वार्गेनिङ गरिरहेका बुझिन्छ ।
गच्छदारको दलको केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाइएको छ।












