३० जेठ, काठमाडौं । सेलिब्रिटी शैलीको नयाँ पार्टी आज घोषणा हुँदैछ । माओवादीमा आफ्नो सेलिब्रिटी शैलीले सो पार्टी ठूलो भएको ठानेका बाबुराम भट्टराईले विभिन्न क्षेत्रका सेलिब्रिटी भेला पारेर आज पार्टी घोषणा गर्न लागेका हुन् । अभिनेत्री करिश्मा मानन्धर लगायतलाई हेर्नकै लागि दुईचार हजार मान्छे भेला हुने आशामा भट्टराईले उनीहरुको सहभागितामा पार्टी घोषणा गर्न लागेका हुन् ।
कुनै उपभोग्य बस्तुको उत्पादको जस्तै लाखौं रुपैयाँ विज्ञापनमा खर्च गरेर उत्पादित वस्तु सार्वजनिक गरेजसरी आज एक नयाँ राजनीतिक दलको घोषणा हुँदै छ । उपभोग्य वस्तुको विज्ञापनको मोडलिङ भने बाबुराम स्वयम्ले गरेका छन् । अभिनेतृ करिश्मा र अभिनेता सरोज खनाल लगायतलाई पार्टीमा भित्र्याए पनि पार्टीको विज्ञापनमा आफैं अभिनय गरेपछि बाबुरामलाई अब हिरो बन्ने चाहना जागेको टिप्पणी हुँदै आएको छ ।
माओवादी अध्यक्ष प्रचण्डसँगको दीर्घकालसम्मको मनमुटावपछि पार्टी छाडेर निस्किएका पूर्वप्रधानमन्त्री बाबुरामले आज आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । काठमाडौंका दशरथ रंगशालामा दिउँसो १२ बजे पार्टी घोषणा हुँदै छ भने त्यहाँ एक लाख मान्छे सहभागी हुने दावी सो पार्टीले गरेको छ ।
आयोजना गरिने कार्यक्रममा विशेष कार्यक्रम गरी पार्टी घोषणा गर्न लागिएको हो । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ गर्न लागिएको नयाँ पार्टीको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको बताइएको छ । पार्टी घोषणा सभामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संवैधानिक अंगका प्रमुख, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत देशभित्रका सवैजसो दल, सांसदलगायत पाँचसयजनालाई अतिथिका रुपमा अमन्त्रण गरिएको जनाइएको छ ।
आफैंसँग छुट्टिएर र विभिन्न आरोप लगाएर गएका बाबुरामको पार्टी घोषणामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने नजाने स्रोतले बताएको छ ।
कार्यक्रममा सहमागीहुन भारतबाट राष्ट्रवादी कांग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी, बहुजन समाजवादी पार्टीका सुधीन्द्र भदोरिया, आनन्दस्वरुप वर्मा काठमाडौं आएका छन् ।
घोषणा सभाअघि विभिन्न स्थानबाट र्याली नयाँ शक्ति नेपालले जनाएको छ ।
पार्टीको आयस्रोत नभएको नयाँ शक्ति नेपालले सहभागीहरुलाई विर्यानी खुवाउने र करिब दुई करोड रुपैयाँ खर्च गर्ने अनुमानले भट्टराईको पार्टी बारे पहिले नै आलोचनाहरु सुरु भएका छन् ।












