२९ जेठ, काठमाडौं । आन्दोलनरत सङ्घीय गठबन्धनले आफ्नो माग पूरा गर्न सरकार अग्रसर नदेखिएको भन्दै आन्दोलन कुनै हालतमा फिर्ता नहुने बताएका छन् । गठबन्धनले जारी राखेको रिले अनसनमा बसेका गठबन्धनका नेताहरुले आफ्नो मागमा सरकारका साथै प्रमुख तीन दल मुगदर्शक बनेर बसेको पनि आरोप लगाए । विभिन्न २९ वटा दल सम्मिलित गठबन्धनका तर्फबाट प्रत्येक दिन १–१ जना शिर्ष नेता सहित करिब ३० जना अनसनमा बसिरहेका छन् ।
संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनले यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गत सिंहदरबार र वालुवाटार घेराऊ गरिसकेको छ । गठबन्धनको नेतृत्वमा संचालित संयुक्त राष्ट्रिय आन्दोलनको तेस्रो चरणमा रिले अनसन अघि सारिएको हो । मधेशी, आदिवासी जनजाति, खस, लिम्बूवान, मगरात, तमुवान, ताम्सालिङ, थारु, दलित, महिला, सीमान्तकृत, उत्पीडित लगायत समुदायहरु सम्मिलित संघीय गठबन्धनले संविधान पुनर्लेखन गरी खोसिएको अधिकार संविधानमा सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएको छ ।












