२९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति चित्त नबुझेका कुरा स्पष्ट रुपमा भन्न आन्दोलनरत मधेसकेन्द्रित र आदिवासी जनजाति सम्बद्ध दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा निर्माण गर्न लागिएको संचारग्रामको शनिबार शिलान्यासका क्रममा संविधानमा के कुरा चित्त नबुझेको हो त्यो मूर्तरुपमा भन्न आन्दोलनरत दलहरुसँग आग्रह गरे । आन्दोलनरत दलहरुलाई चित्त नबुझेका कुरा संविधान संशोधनमार्फत सम्बोधनका लागि सरकार तयार रहेको उनले आश्वासन दिए ।
उनले लोकतन्त्रमा कसैमाथि पनि अन्याय हुन नहुने भन्दै अन्याय र भेदभाव अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताए । उहाँले आन्दोलनरत दलहरुका माग नै अस्पष्ट रहेको भन्दै माग सम्बोधन गर्नुप¥यो भनेर लोकप्रिय कुरा नगर्न सत्ता साझेदार नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुसँग आग्रह गरे । माग नै स्पष्ट नभएका दलहरुसँग लागेर उनीहरुलाई नउचाल्न ओलीले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले संविधान जारीसँगै राजनीतिक अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै अब सबै राजनीतिक दलहरुले मुलुकको विकास निर्माणका काममा ध्यान दिनुपर्ने बताए ।
रेडियो नेपालले आफ्ना संस्थापक तारिणीदत्त कोइरालाको स्मृतिमा ८ करोड रुपैयाँको लगानीमा संचारग्राम निर्माण गर्न लागेको हो ।












