२७ जेठ, काठमाडौं । तत्कालीन विद्रोही माओवादी र सरकारबीच वार्ता चलिरहेका बेला सेनाले दोरम्बामा सामूहिक हत्या गरेका व्यक्तिका आफन्तले सत्यनिरुपण आयोगमा उजुरी दिएका छन् । उनीहरुले विहीबार उजुरी दिँदै पूर्वराजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र गृहमन्त्री कमल थापाले हत्या गरेको भन्दै कारवाही गर्न माग गरेका छन् । त्यस्तै तत्कालीन सेनापति, प्रमुख जिल्ला अधिकारी र उच्च प्रहरी अधिकारीलाई कारवाही गर्न पीडितहरुले सामूहिक उजुरी दिएका छन् ।
सशस्त्र जनयुद्धका क्रममा रामेछापको दोरम्बामा तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका १५ जनाको परिवार काठमाडौं आएर आयोगमा उजुरी दिएको हो ।
आयोगले जिल्लाको शान्ति समिति मार्फत उजुरी दर्ता गर्ने ब्यवस्था गरेपनि अन्तराष्ट्रिय रुपमा समेत ठूलो मानिएको घटनाको सत्यतथ्य र स्वतन्त्र छानविन हुनुपर्ने भन्दै पीडितहरु गाउँबाट राजधानी आएका हुन् ।
उजुरी दिनेमा दोरम्बामा मारिएका तत्कालीन माओवादी जनसरकार प्रमुख बाबुराम लामाकी छोरी संगीत योञ्जन समेत छिन्।
तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।

यसैबीच दोरम्बा घट्ना जस्तो गम्भीर मानवअधिकार उलंघनको घटनालाई आयोगले छुटटै रुपमा छानविन गर्नुपर्ने धारणा अधिकारकर्मीले व्यक्त गरेका छन् ।
पूर्वराजा र कांग्रेस सभापति शेरबहादुर देउवालाई कारवाही गर्न अन्य उजुरीहरु यसअघि नै आयोगमा परिसकेका छन् ।













