२५ जेठ, काठमाडौं । राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । उपचारकै क्रममा गुरुङको मंगलबार विहान २ बजेर ३७ मिनेटको समयमा निधन भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी गराएको छ ।
व्याकुल माइलाले रचना गरेको राष्ट्रिय गानमा संगीत भरेका गुरुङको भौतिक शरीर अब नरहे पनि नेपाल र नेपालीबीच उनी युगौंयुग बाँचिरहने छन्
न्युन रक्तचापका कारण बेहोस भएपछि गुरुङलाई एक हप्ता पहिले अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव, पार्किन्सन तथा मधुमेहबाट पीडित थिए ।
खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो ।
गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो । पूर्वीय र पाश्चात्य दुवै संगीतका त्यतिकै पारखी गुरुङले १५ सय जति गीतमा संगीत दिएका छन् । उनको मूल विधा संगीत दिने भए पनि उनले रचना गरेका र गाएका गीतको संख्या पनि धेरै छ ।
उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक कुञ्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालतीमङ्गले लगायतका कृतिहरुमा पनि संगीत दिएका थिए ।
गुरुङका पत्नी, तीन छोरा र एक छोरी छन् ।












