२४ जेठ, काठमाडौं । मनमोहन अधिकारीको प्रधानमन्त्री रहेका वेला लोकप्रिय बजेट ल्याएका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले अहिले ओली सरकारले ल्याएको बजेटले एमालेको बद्नाम हुने दावी गरेका छन् ।
पार्टीको भातृ संगठन युवा संघ नेपालले सोमबार काठमाडौमा गरेको कार्यक्रममा एमाले नेता तथा पूर्वअर्थमन्त्री अधिकारीले कार्यान्वयन हुन नसक्ने बजेटले एमालेको बेइज्जत हुने धारणा व्यक्त गरे ।
राजस्वभन्दा चालु खर्च निकै बढी हुनुले बजेटको कार्यान्वयन निकै चुनौतिपूर्ण रहेको बताए । बजेटमा धेरै सकारात्मक कार्यक्रम समावेश गरिए पनि कार्यान्वयन हुने आधार नरहेको भन्दै बजेटको कार्यान्वयन अर्थमन्त्रीका लागि मात्र नभई एमाले पार्टीका लागि नै चुनौतिको विषय भएको बताए ।
आफ्नै दलका नेताले बजेटको तिखो आलोचना गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि भरतमोहन अधिकारीलाई कडा जवाफ फर्काए । ओछ्यानमा सुत्दा र सडकमा हिँड्दा समेत चुनौति आइपर्ने भन्दै पौडेलले चुनौतिविनाको काम देखाउन अधिकारीलाई चुनौति दिए ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र अन्य आलोचकलाई अर्थमन्त्री पौडेलले रिस पोखे । कतिपय आलोचकहरुले अमर्यादित शब्द प्रयोग गरेर बजेटको आलोचना गर्दा दुःख लागेको भन्दै आफूसँग सिधा आँखा लगाएर भन्ने हिम्मत गर्न चुनौति दिए ।













