विश्लेषक
चिनियाँ नेता माओत्सेतुङको विचारलाई वादमा बदल्ने तिनै प्रचण्ड हुन् तर ती प्रचण्ड अहिले नेपाली राजनीतिमा बाघ बनेर गर्जने तर भिजेको मुसो भएर अन्य दलसँग व्यवहार गर्ने गरेका छन् । प्रचण्डसँगै उनले विचलित बनाएका जुझारु व्यक्तिहरुलाई पनि उनले भिजेको मुसो बनाउने जालमा फसाइसकेका छन् । त्यसको पछिल्लो उदारहण हो रामबहादुर थापा बादल, मातृका यादव, पम्फा भुसाल र लेखनाथ न्यौपाने । मणि थापाको त के कुरा गर्नु जनयुद्धकालमा समेत पत्नीकै कारण बदनाम भएर पार्टी छाडेका मणि फेरि प्रचण्डसँगै जोडिएका छन् । हुन त जनयुद्ध कालमा प्रचण्डजस्ता थिए उनकै प्रतिविम्ब थिइन् मणि थापाकी पत्नी रञ्जना श्रेष्ठ । अनि त्यसकै अर्को प्रतिविम्ब थिए राम कार्की उर्फ सुरेन्द्र कार्की ।
जतिवेला माओवादी छापामार प्रहरी चौकी र ब्यारेकको आक्रमणमा हुन्थे त्यही समय प्रचण्ड भारतको भूमिगत स्थानको रिसोर्टमा रमाइलो गरिरहेका हुन्थे । जतिवेला मणि थापाले रचना गरेका गीतमा माओवादी छापामार युद्धको गीत गाइरहेका हुन्थे तर उनकी पत्नी रञ्जना श्रेष्ठ श्रृंगारपटारमा रमाइरहेकी हुन्थिन् । जतिवेला खुल्ला मोर्चामा रहेको अखिल क्रान्तिकारीले राजधानीमा धावा बोलिरहेको हन्थ्यो तर त्यतिवेला डा. बाबुराम भट्टराई आफ्नी छोरी मानुषीका लागि कसरी भारतीय गुप्तचर संस्थाको उत्तराधिकारी बनाउने भन्ने सपनामा व्यस्त रहन्थे । छापामारहरु होलेरी र पिली आक्रमणमा आहुती दिइरहेका हुन्थे तर राम कार्की उर्फ सुरेन्द्र कार्की आफ्नी पत्नीको देश भारतमा मदिरा खाएर रमाइरहेका हुन्थे । बाबुरामपत्नी हिसिला कसरी पार्टीको माथिल्लो तहमा पुग्ने भनेर त्यतिवेला भारतकै चाकडीमा रमाइरहेकी हुन्थिन् जतिवेला फम्फा भुसालहरु रोल्पामा युद्धको नेतृत्व गरिरहेकी हुन्थिन् । प्रचण्ड सुरक्षाको घेराका नाउँमा रिसोर्टजस्तो घरमा रमाइरहेका बेला मोहन वैद्य र मातृका यादवले भारतीय शासकको कोर्रा खाइरहेका हुन्थे ।
सपनाको विरोधाभासबीच भएको त्यो क्रान्तिमा मोहन वैद्य, मातृका यादव, पम्फा भुसाल र लेखनाथ न्यौपानेले जीते तर हालिमुहाली प्रचण्डको चाकडी गर्नेहरुको भयो । जनयुद्धमा होमिएका र विद्रोही राजा प्रचण्डका निकट प्रभाकर, बलदेव, सुरेश सिंह लगायतको हुलले चाकडीमा क्रान्तिकारीलाई पछार्यो । तिनीहरु सफल भए आफ्नो व्यक्तित्त्व बनाउन । र, उनीहरु माओवादी आइकन पनि बनिरहेका छन् ।
भारतीय मिसन पनि सफल भयो, बाबुरामलाई भारतले बचायो, प्रधानमन्त्री बनायो, विप्पा गरायो, त्रिभुवन विमानस्थलको व्यवस्थापन लिएर नेपालको सुरक्षा संयन्त्र कब्जा गर्ने कोसिस पनि गर्यो । यति मात्र होइन देशको प्रधानमन्त्रीलाई प्राप्त सूचना लिएर नेपालको सार्वभौमिकतामाथि रणनीति बनाउने कार्य समेत भारतले गर्यो । तर पनि भारतको सम्पूर्ण ईच्छा पूरा नभएकोले नेपालको शक्तिको कुरा गर्ने भारतीय गुप्तचरले सूर्यबहादुर थापाको ‘राष्ट्रिय जनशक्ति’ सकिएपछि त्यस्तै नामबाट बाबुरामलाई पार्टी खोल्न आदेश दियो र नयाँ पार्टी बन्यो ‘नयाँ शक्ति नेपाल’ ।
प्रचण्डको जुन व्यक्तित्व थियो, जसरी धनाढ्यहरुले चाकडी गर्थे त्यो स्थान नरहेपछि उनले तिनै क्रान्तिकारी नामलाई फेरि जोडेर आफ्नो व्लु लेबल ब्राण्ड कायम राख्ने गरी माओवादी एकताको कुरा गर्दै तिनै क्रान्तिकारी नामलाई पार्टीमा समाहित गरेका छन् । उनका गुरु मोहन वैद्य त प्रचण्डको ब्लु लेबल ब्राण्डका लागि धितो बस्न चाहेनन् ठीकै गरे । तर प्रचण्ड रोएपछि बादल, मातृका यादव, पम्फा भुसाल र लेखनाथ न्यौपाने फेरि उनीसँग जोडिएको छन् । क्रान्ति गर्नका लागि व्यक्तित्व पनि चाहिने भन्दै प्रचण्डले अझै पनि केही गर्छन् कि भनेर उनीहरु प्रचण्डसँग फर्किएका छन् तर हुने लक्षण केही देखिएको छैन ।
जनयुद्धकालीन सहिदलाई राहत दिने कुरा फेरि एकाएक सेलाएको छ । प्रचण्ड ओलीसँग लुत्रुक्क परिसकेका छन् । एमालेकै नेता माधव नेपाल र झलनाथ खनाल ओलीको कार्यशैलीप्रति सार्वजनिक रुपमै विरोधमा उत्रिए पनि प्रचण्ड भने ओलीकै चाकडीमा रमाएकाृ छन् । एमाले र कांग्रेसले जप्दै आएको स्थानीय निर्वाचन आफू अनुकुल सरुवा गरेका प्रमुख जिल्ला अधिकारीमार्फत र प्रहरीहरुको च्यानलमार्फत आफ्नो अस्तित्व जोगाउन सकिन्छ कि भन्ने प्रचण्डलाई लागेको देखिन्छ । तर प्रचण्ड यति बेबफुक देखिन्छन् कि जुन दोस्रो संविधान सभाको निर्वाचनले उनलाई झस्काउँदा पनि उनी थाङ्नामा सुतेर ब्लु लेबल ब्राण्डकै सपना देखिरहेका छन् । उनले नै आफ्नो हैटौंडा महाधिवेशनबाट निर्वाचित सरकारको घोषणा गरेका खिलराज रेग्मीले धूलो चटाइदिएको उनले यति छिट्टै विर्सीसकेका छन् ।
नेतृ पम्फा भुसालकै कुरा मान्ने हो भने पनि अहिलेका कर्मचारीहरुसँग हरेक पार्टी निकट कर्मचारी संगठनको परिचयपत्र छ र उनीहरुले आफ्नो आवश्यकताअनुसार त्यो प्रयोग गर्छन् । त्यसो भए गृहमन्त्री आफ्नो भएकै भरमा स्थानीय निर्वाचनमा कर्मचारीहरुले माओवादी केन्द्रलाई सहयोग गर्लान् ? गर्दैनन् प्रचण्डको यो भ्रम मात्र हो । कांग्रेसको ज्यादतिबाट भुक्तभागी बनेको एमालेले लामो कसरतपछि मात्र आफूलाई सबै निकायमा बलियो बनाएको छ तर प्रचण्ड फेरि पनि दिवास्वप्न देखेर ओलीको चाकडीमा रमाइरहेका छन् ।
ठूलो भिड देख्नेवित्तिकै आफै प्रधानमन्त्री बन्ने गरी गर्जने तर एमाले अध्यक्ष्य ओलीको अगाडि पर्ने वित्तिकै भिजेको मुसा बन्नुपर्ने प्रचण्डको भित्री रहस्य भने उदेकलाग्दो देखिएको छ ।












